
पोखरा – पोखरा महानगरपालिकाले अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्ने बाटो खुलेको छ। उच्च अदालत पोखराले अन्तिम फैसला नहुन्जेलसम्म पोखरा–३२ लामेआहालको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न परमादेश दिएसँगै तत्काललाई फोहोर फाल्ने बाटो खुलेको हो।
साउन ११ गते स्थानीय रविन केसी, तिथेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले लामेमअहालमा फोहोर नफाल्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका थिए। रिटमा उनीहरूले फोहोर विसर्जन गर्दा फैलिएको दुर्गन्धले बस्न सक्ने अवस्था नरहेको उल्लेख गरेका थिए।
‘श्वासप्रश्वासको रोगदेखि लिएर हैजाजस्तो संक्रामक रोगले यहाँका बासिन्दा पीडित भएका छन्, विद्यालयमा समेत फोहोरको दुर्गन्धले विद्यार्थीको संख्या घटेको छ। घुम्न आउने देशी विदेश पर्यटक शून्यप्रायः भए। यही दुर्गन्धले गर्दा घरपालुवा जनावरमा रोगले आक्रान्त भई मरेका छन। वन्यजन्तु पशुपंक्षीमा नकरात्मक असर छ। समग्रमा भन्नु पर्दा हाम्रो यो पृथ्वी तलमा रहेको भूस्वर्गजस्तो ठाउँ अहिले नरकमा परिणत भएको छ’, रिटमा भनिएको थियो।
महानगरले गरेको सम्झौतापत्र वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ र फोहोर मैला व्यवस्थापन ऐन, २०६८ यसको नियमावलीको विपरीत रहेको रिटमा उल्लेख छ।
स्थानीयले दिएको रिटउपर उच्च अदालतले विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो। आइतबार महानगरको तर्फबाट लिखित जवाफ प्राप्त भएपछि हाललाई रिटउपर अन्तिम फैसलामा सम्बोधन हुने हुँदा निवेदनको माग बमोजिम आदेश जारी गर्नु नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले बताए।
उच्चको परमादेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उल्लेखित विषय फोहोरमैलासँग सम्बन्धित भएको र निवेदकले उठाएको विषयबस्तुको सम्बन्धमा विपक्षीहरुको लिखित जवाफ परेपछि अन्तिम सुनवाइ हुँदाको बखत सम्बोधन हुने नै हुँदा निवेदन माग बमोजिमको अन्तरिम आदेश जारी गरिरहन परेन।’
लामेआहालवासीको अवरोधका कारण पोखरा महानगरपालिकाले फोहोर ११ दिनदेखि अस्थायी ल्यान्डफिल साइटमा फ्याँक्न सकेको छैन। न्युरोड, नयाँबजार, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगालगायत मुख्य बजार क्षेत्रबाहेक अन्य स्थानको फोहोर उठेको समेत छैन। उठाइएको फोहोर पनि महानगरको दमकल शाखामै खाल्डो खनेर पुरिएको छ।
महानगरले यसअघि पोखरा–१४, बाच्छेबुडुवामा फोहोर फाल्दै आएको थियो। चाउथेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाच्छेबुडुवाको ल्यान्डफिल साइट सार्नैपर्ने बाध्यता आइलाग्यो।
त्यसपछि पोखरा–३२ लामेआहालमा सेती नदी किनारमा फोहोर फाल्न महानगरले स्थानीयसँग १६ बुँदे सम्झौता गरेको थियो। पहिरो पुरिने आशमा फोहोर फाल्न दिएका लामेआहालवासीले सम्झौताअनुसार काम नभएको भन्दै फोहोर फाल्न नदिएका हुन्।
महानगरले लामेआहालका बासिन्दासँग गरेको १६ बुँदे सहमति लागू नगरेको, दुर्गन्ध नहटाएको, अन्यत्र विकल्प नखोजेको भन्दै उनीहरुले फोहोर फाल्नन रोक मात्रै लगाएका छैनन्, उनीहरुले इच्छा गुरुङको नेतृत्वमा त्यहाँ फोहोर फाल्न नदिन संघर्ष समिति नै बनाएका छन्।
सरसफाइ शाखाका अनुसार हाल पोखराबाट दैनिक २०० टन फोहोर उठ्छ। अस्थायी ल्यान्डफिलको झमेलाका कारण फोहोर नउठ्दा पोखरा दुर्गन्धित भएको छ। सिंगो महानगरको आलोचनासमेत भइरहेको छ।