
पोखरा–
– आँखा दुख्ने, सुनिने, रातो हुने
– घाममा आँखा खोल्न अप्ठ्यारो हुने
– बिहान उठ्दा कचेराले आँखा खोल्न गाह्रो हुने
– आँखाबाट आँसु खसिरहने
के तपाईंको आँखामा पनि यस्तै समस्या देखिएको छ? याद गर्नुस्, यो लक्षण आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ को हो। जुन रोग देशभर तीव्र गतिमा फैलिरहेको छ।
गण्डकी प्रदेशमा पनि आँखा पाक्ने समस्या विकराल रुपमा फैलिएको छ। विशेषतः विद्यार्थीमा धेरै संक्रमण फैलिएपछि कास्की र तनहुँमा त विद्यालय नै बन्द हुन थालेका छन्।
अस्पतालमा समेत बिरामीको चाप बढेको छ। गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन्। त्यसमा पनि ९१८ जना बालबालिका छन्।
‘अस्पतालमा आउनेमा चाहिँ बच्चाहरु धेरैमा संक्रमण देखिएको छ। बच्चाहरुबाट घरपरिवारमा सरिरहेको देखिन्छ’, उनले भनिन्, ‘बच्चाहरुले आफ्नो आँखाको सुरक्षा गर्न नसक्ने कारणले गर्दा धेरै फैलिएको हो।’
आइतबार मात्रै अस्पताल आएकामध्ये ६२९ बिरामी आँखा पाक्ने ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’का संक्रमित थिए। तीमध्ये ३६० जना बालबालिका हुन्।
सोमबार त बिहानैदेखि अस्पतालमा बिरामीको झनै भीड बढेको छ। आँखा पाक्ने रोगले ग्रसित भएपछि जिल्ला जिल्लाबाट आएका बिरामीले भीड बढेको हो।
आँखा पाक्ने रोग कसरी सर्छ त? डा. श्रेष्ठ भन्छिन्, ‘यो हावाबाट सर्दैन। हाम्रो आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ। हातमा संक्रमितको आँशु पर्यो भने त्यहाँबाट सर्छ।’

आँखा पाक्ने समस्या भएपछि अस्पताल आएका बालकको आँखा परीक्षण गर्दै हिमालयन आँखा अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठ। तस्बिरः विनोद ढुंगाना/देश सञ्चार
संक्रमितले प्रयोग गरेको रुमाल, साबुन, चस्मा, औषधिलगायत अरुले प्रयोग गर्दा संक्रमण सजिलै सर्ने उनले बताइन्। ‘संक्रमण हुनै नदिन हामीले बेलाबेलामा साबुन पानीले हात धोइराख्नपर्छ। कतै छोएपछि आँखामा छुन सक्ने भएकाले हातु धुनुपर्छ’, डा. श्रेष्ठ भन्छिन्, ‘यदि साथीभाइ, परिवारका सदस्य कसैको आँखा पाकेको छ भने उनीहरुले प्रयोग गरेको सामाग्री प्रयोग नगर्ने हो भने पनि संक्रमण सर्दैन।’
आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र लक्षण देखिएपछि अस्पताल जान डा. श्रेष्ठको सुझाव छ। ‘आँखा पाक्यो भनेर कति जनाले आँखा खोलेर पानी छ्याप्छन्, त्यो चाहिँ गर्नु हुँदैन। किनभने आँखा खोलेर पानी छ्याप्नाले झनै घाउ हुने र संक्रमण फैलने सम्भावना धेरै हुन्छ।’ एक जनाले प्रयोग गरेको औषधि अर्को व्यक्तिले प्रयोग गर्न नहुने उनी सल्लाह दिन्छिन्।
आँखा पाक्ने रोग निको नहुन्जेल आइसोलेसनमा बसेको खण्डमा फैलने दर कम हुने चिकित्सकहरु बताउँछन्। आँखा पाक्ने रोग निको हुन हप्ता दिनदेखि २४ दिनसम्म समय लाग्छ। जटिल समस्या आउन नदिन बेलामै अस्पताल जानु उचित हुने चिकित्सकको भनाइ छ।
सोमबार आँखा पाक्ने रोगको उपचार गराउन हिमालय आँखा अस्पताल आएका निकै छोटो समयमा संक्रमित भएका भेटिए। पोखरा–१८ सेदीका सुवास तामाङले संक्रमित छोरालाई भेटेको केहीबेरमै आँखामा संक्रमण देखिएको बताए।

आँखा पाक्ने समस्याबाट ग्रसित भएर अस्पताल आएका पोखरा–१७ सेदीका सुवास तामाङ। तस्बिरः विनोद ढुंगाना/देश सञ्चार
‘मेरो बाबुलाई हिजो बिहानदेखि आँखा पाक्न थालेको रहेछ। म मर्निङ वाकबाट फर्कँदा मोबाइल हेरिराथ्यो। किन स्कुल नगएको भनेको आँखा पाकेछ भन्यो’, उनले भने, ‘खाना खाएपछि एकछिन आराम गर्छु भनेर १ घण्टा सुतेर उठेको त आँखा चिपचिप कचेरा आ’रैछ। ऐनामा हेर्दा हल्का रातो भइसकेको रहेछ।’ बिहानै उठेर उपचार गराउन अस्पताल आएको उनले सुनाए।