
पोखरा – गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएको छ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नेकपा माओवादी केन्द्रकी सुशिला सिम्खडा र नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय मन्त्री नियुक्त भएका थिए।
मन्त्री बनेको १४ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पायो। सिंखडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइन्। उनले मन्त्रालयको कार्यभार सम्हालेको सय दिनको मुख्य उपलब्धि ४६ बुँदामा समेटेर सार्वजनिक गरेकी छन्।
स्वास्थ्य क्षेत्रतर्फको २२ र सामजिक विकासमा २४ बुँदामा मन्त्री सिंखडाले हनिमुन पिरयडमा सम्पादन गरेको कामको सूची समावेश छ। सार्वजनिक मुख्य उपलब्धिमा अवलोकन, निरीक्षण, डकुमेन्ट्री निर्माण र अन्तरक्रियालाई प्राथमिकताका साथ समेटिएको छ।
मन्त्री सिंखडाले मानवसेवा आश्रमको अवलोकनलाई उपलब्धिमा समावेश गरेकी छन्। ‘कास्की जिल्लाको हेम्जा र छोरेपाटन तथा स्याङजाको फेदीखोलास्थित मानवसेवा आश्रमको अवलोकन गरिएको’, उनले भनिन्, ‘साथै ती आश्रमहरुलाई लगाउने लत्ता कपडा र कास्की जिल्लास्थित मानव सेवा आश्रममा ४ लाख रुपैयाँ बराबरको मानसिक रोग सम्बन्धित लगायतको औषधि समेत उपलब्ध गराइएको।’
उपलब्धिको अर्को बुँदामा भनिएको छ, ‘आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयबाट सम्पादन भएको क्रियाकलापको समिक्षा गरिएको छ। साथै कार्यक्रम कार्यन्वयन झल्किने डकुमेन्ट्रीसमेत तयार गरिएको छ।’
गण्डकी प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि बमोजिमको रिक्त पदमा विभिन्न निकाय, कार्यालय र शैक्षिक संस्थाबाट आवश्यकताको माग संकलन गरेको उनले बताइन्।
मन्त्रालयको जिम्मेवारी पाएपछि कास्कीमा २५ शैय्याको डायलासिस केन्द्र सञ्चालनमा ल्याएको बताइन्। मिर्गाैलाका बिरामीले डायलासिस गर्न महिनौँ पर्खनुपर्ने बाध्यता अन्त्य गराउन गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
मन्त्री सिंखडाका अनुसार दमौली, लमजुङ, स्याङ्जा र पर्वत जिल्ला अस्पतालमा २÷२ थान डायलासिस मेसिन थप भएको छ। १० वर्षमुनि र ६० वर्ष माथिकालाई प्रदेश सरकार मातहात रहेका अस्पतालमा हुने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरिएको मन्त्री सिंखडाले जानकारी गराइन्। उनले कार्यभार सम्हालेपछि जोखिममा परेका ७ जना गर्भवती महिलाको हवाइ उद्धार गरिएको छ।
आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ नम्बरको एम्बुलेन्स सेवा सुरु भएको छ। गण्डकी प्रदेशमा तोकिएको २८ स्थानीय तहमा तयार परिएको पारिवारिक स्वास्थ्य प्रोफाइल उनको सय दिने उपलब्धि हो।
सामाजिक विकासतर्फ स्थानीय तहमा सञ्चालन हुने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन आधारभूत तह (कक्षा १–८) उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८० र प्रदेशस्तरीय छात्रावृत्ति व्यवस्थापन कार्यविधि २०८० को मस्यौदा निर्माण मुख्य उपलब्धि हुन्।
प्रदेश नमुना युवा सांसद अभ्यास, दलित महिला जनप्रतिनिधिसँगको २ दिने कार्यशाला, स्काउट प्रशिक्षण, स्थानीय तहसँगको अन्तरक्रिया, महिला अधिकारकर्मीको दौड, गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता, ४० जना महिलालाई १० दिने भलिबल प्रशिक्षण, गण्डकीका ओलम्यिनसँगको भेटघाट र अन्तरक्रिया, व्यावसायिक शिक्षा र तालिमको सञ्जाल गठन मन्त्री सिंखडाले सय दिनमा गरेका काम हुन्।
मन्त्री सिंखडाले कार्यकालको मुख्य उपलब्धि बजेट निर्माण भएको बताएकी छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि आफ्नो सय दिने कार्यकालको मुख्य उपलब्धि बजेट निर्माण र पारित भएको बताएका थिए।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिंखडाले भनिन्, ‘हामी आउनेवित्तिकै नीति तथा कार्यक्रमको एकदम चटारो थियो। त्यो हाम्रो सौभाग्य हो। हामीलाई अनुभव संगाल्न गाह्रो भयो। अलि पछि भा भए केही अनुभव संगालिन्थ्यो, सजिलो हुन्थ्यो होला।’
मुख्य एजेन्डा नीति तथा कार्यक्रम बनाउने भएको उनले सुनाइन्। ‘सार्वजनिक गरेको कार्यक्रम पनि उपलब्धि हो भन्छु म। यो सबै उपलब्धि उत्तिकै महत्वपूर्ण छन्’, उनको भनाइ छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको बजेट मन्त्री सिंखडाले आफ्नो क्षेत्रमा मात्रै खटाएको र उपल्लो मुस्ताङमा एउटा पनि योजना नपरेको भन्दै सत्ता पक्षकै सांसदले चर्को अलोचना गर्दै राजीनामासमेत माग गरेका थिए।