
झापा- वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअघि ओमन गएकी एक युवती इराकमा बेचिएको घटना सार्वजनिक भएको छ।
झापाको अर्जुनधारा- ६ लक्ष्मीपुर माता मन्दिर छेउ घर भएकी ३० वर्षीया कमला मुर्मूलाई इराक पुर्याएर बेचेको परिवारको भनाइ छ।
कमलाकी आमा लखी मुर्मूले आफ्नी छोरीलाई इराक पुर्याएर बेचेको बताएकी छिन्।
इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड १ का मदन खरेलले छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै विदेश पुर्याएकाे र इराकमा लगेर बेचेको आमा लखीले बताइन्।
तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेकी छोरी हालसम्म सम्पर्कविहीन भएको र केही समयअघि मात्रै उनी सम्पर्कमा आएर आफू बेचिएको बताएसँगै उनको उद्धार गरिदिन आमा लखीले आग्रह गरेकी छन्।
‘कमलालाई श्रीमानले छाडेपछि आठ वर्षकी छोरी काजललाई मेरो जिम्मा लगाएर कमाउन जान्छु है आमा भन्दै ऊ विदेश गएकी हो’, लखीले भनिन्, ‘तीन वर्षसम्म छोरीको अत्तोपत्तो थिएन। अहिले छोरी सम्पर्कमा आइन् तर उनलाई उद्धार गर्नुपर्ने भयो। हाम्रो बलबुताले नभ्याएपछि तपाईंहरूलाई गुहारेकी हुँ। छोरीको उद्धारमा सहयोग पुर्याइदिनूहोस्।’
कमला २०७७ साल भदौ १० गते ओमन जाने भनेर घरबाट हिँडेकी आमा लखीले बताइन्। ‘तर, उनलाई इराक पुर्याएर बेचिएछ’, आमा लखीले रुँदै भनिन्, ‘बेचिएकी छोरीको उद्धारका लागि धेरैलाई गुहार मागे तर हाम्रो आवाज कसैले सुनेन।’
विदेश गएकी छोरी सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय, झापा, इलाका प्रहरी कार्यालय, अनारमनी, अर्जुनधारा नगरपालिका, वडा कार्यालय, माइती नेपाल लगायतका संघसंस्थासँग छोरीको खोजी गरिदिन आग्रह गरेको बताउँदै आमा लखीले आजसम्म सुनुवाइ नभएको बताइन्।
‘छोरी सम्पर्कमा आएसँगै उनले आफूलाई तत्काल उद्धार गर्न भन्छिन्’, लखीकी छिमेकी संगीता प्रसाई बंशलले भनिन्, ‘हाम्रो कुरा कस्ले सुनिदिने?, जानेजति सबै ठाउँ पुग्यौं तर उनको उद्धार कतैबाट भएन।’
विदेश गएकी कमला बेपत्ता भएसँगै उनलाई विदेश पठाउने एजेन्ट कट्टेल र खरेललाई डेढ वर्षअघि घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय, अनारमनीमा ल्याएर छलफल गराएको र त्यत्तिबेला उनीहरूले १५ दिनभित्र छोरीलाई नेपाल झिकाइदिने भनेका थिए। तर हालसम्म छोरीको उद्धार हुन नसकेको लखीले गुनासो गरिन्।
कमला यसअघि पनि कुवेत गएकी थिइन्। उनी दुई वर्षसम्म कुवेतमा काम गरेर नेपाल फर्किएपछि छोरीको सुन्दर भविष्य बनाउने उद्धेश्यले पुनः ओमन गएको बताइएको छ।