हास्यकलाकार हरिवंश आचार्य निकै लोकप्रिय छन्। उमेरको ६७ औं वसन्तमा हिँडिरहेका आचार्य टेलिश्रंखला, प्रहसन, फिल्म, गायन र म्युजिक भिडियामा पनि उत्तिकै सक्रिय छन्। आजका नयाँ पुस्ताका माझ पनि अत्यधिक रुचाइएका ‘भर्सटायल एक्टर’ हुन् उनी। उनै आचार्यले जीवनमा धेरै हण्डर खाए। धेरै दुःख पाए। करिब ४० वर्षदेखि हसाउँदै आएका आचार्य व्यक्तिगत जीवनमा धेरै रोए पनि।
उनै कलाकार आचार्यलाई हामीले यसपटक देशसञ्चार चौतारीमा निम्त्याएका छौँ। उनीसँग देशसञ्चार न्यूजरुममा सहकर्मीहरुले गरेको अन्तर्क्रियाको सम्पादित अंश :
विश्वविख्यात हास्यकलाकार चार्ली चाप्लिनले आफ्नो आत्मवृतान्त ‘मेरो आत्मवृतान्त’मा लेखेका छन्, जीवनलाई आफूले हेर्दा त्रासदी र अरुले हेर्दा रमाइलो (कमेडी) लाग्दोरहेछ। के एउटा हास्यकलाकारको व्यक्तिगत जीवन पनि त्रास र रोदनले भरिएको हुन्छ?
जनावर पनि (कुकुरको बाहेक) जन्मिनेबित्तकै रुँदैनन् तर मान्छे त जन्मिनेबित्तिकै रुन्छन्। नरोए पिटेर पनि रुवाइन्छ। मान्छे जन्मिँदै रुने बरदान लिएर आएका छन् र जीवनमा दुःख पर्दा मानिस रुन्छन्। आजको समयमा गरिब भन्दा धनी धेरै रुने गरेका छन्। एक मजदुर तथा गरिबले निद्राको औषधी खानु पर्दैन तर शिक्षित र सम्पन्नशील मानिस निद्राको औषधी खाएर सुत्नु पर्ने अवस्था छ। सबैथोक पुग्दा पनि मानिस भने धेरै रुन्छन्। विपन्न वर्ग धेरै रोएका हुँदैनन्। दालभातकै लागि उनीहरू संघर्ष गर्नु पर्ने अवस्था भएकाले ज्यान थाक्ने गरी काम गर्दछन्।
थकाइमा निद्रा पनि पर्छ। अहिले मानिसहरूको आशा र महत्वाकांक्षा धेरै भयो। चाहिने भन्दा बढी अपेक्षा भयो। तर कलाकारको संवेदनशील हुने भएकाले समाजको अन्य पात्र जस्तै हुन्छन्। दुःख पर्दा रुनै पर्छ। कलाकार पनि रुन्छन्। कलाकार संवेदनशील काम गर्छ। समाजलाई नचिनी समाजको काम गर्न सक्दैनन्। संसारले नै गुरु मानेको चार्ली चाप्लिनबाट धेरै प्रभावित छु म। १ सय वर्ष अगाडिको दुःख व्यक्त गरेर जानु भयो। मान्छेले जे देख्यो त्यसैलाई कलामार्फत् हँसाउने कोसिस गरियो। मान्छेको जिन्दगीमा ह्युमरले हँसाउन सक्नु महान काम हो जस्तो लाग्छ। ‘तुलानात्मक रूपमा मेरो जीवन पनि अभावै अभावमा बित्यो। त्यसबाट पनि ह्युमर आउँदोरहेछ। म धेरैचोटि फेल भएको पात्र हुँ। पढाइमा फेल भएँ। सम्पत्तिमा फेल भएँ। धेरै कुराको अभावबाट गुज्रनु पर्यो। र, त्यो दुःखले नै मलाई सिकायो। काम गर्न सकेँ। सबैले चिन्न सक्ने भएको नै दुःखले हो। ह्युमर भनेको दुःखबाट विकास हुने रहेछ।
समाजको कुरा जोडौं, मानिसहरू कमेडी हेरेर हाँस्छन्। जीवनमा खुसी हुन्छन्। तर जति शिक्षित र सम्पन्न हुँदै गए मानिसहरूको रुवाइ हराएको छ। मान्छेहरूले एकअर्कालाई दुःख साट्न छाडे । करुणाको अभावले यस्तो भएको हो कि अन्य कारण पनि छ?
छोडे कि जस्तो लाग्छ। आश धेरै गर्न थाले मानिसले। सानो चिजमा रमाउन छोडे। आज त हामी छिमेकीहरूको कुरा हेर्दैनौँ। सुन्दैनौँ। हामी त विदेशमा बसेका नेपाली आफन्तको जीवनशैलीलाई पछ्याउन थाल्यौं। आफूलाई दाँजेर हेर्न थालियो। पिजा भन्दा पनि मीठो खोज्न थालियो। संसारका धनी मान्छेसँग दाँज्न थालियो। जेरीस्वारी खान पाए मीठो हुन्छ, मासको बारा खान पाए पनि खुसी भइने दिन थिए। अब मान्छेको अपेक्षा धेरै भयो। दुःखी आत्माहरू बढे । आत्महत्या संख्या बढ्यो। त्यसो हुँदा मानिसले आफूलाई बिर्सिन थाले। सम्बन्धहरू बिर्सिन थाले। नजिक हुन छोडियो।
समाजमा जुन परिवर्तनहरू देखा परेका छन्। परिवार र समाजको विखण्डीकरण, सामाजिक नभई व्यक्तिगत हुन थालिएको हो?
हाम्रो समाजमा साथीभाइहरू भेट्ने चलन छ। लोभलाग्दो सम्बन्ध मित्र मण्डलीमा हुन्थ्यो। टोलको चिया पसलमा भेटेर मनको कुरा साटासाट गरिन्थ्यो। कुरा गुम्साएर नराख्नु रे, रुखलाई भए पनि सुनाउँदा मन हलुका हुन्छ भन्थे। आफ्ना कुरा सुनाउने साथीहरू घट्दै छन्। रुन लाज लाग्ने समय आयो। सुन्दिने फुर्सद छैन कसैलाई। ज्यादै व्यक्तिगत हुन थाले मानिस। सहरीकरणमा अझ बढी यो समस्या हुने गरेको छ। उँघरमा कुरा काट्नु राम्रो जस्तो पनि लाग्छ मलाई। त्यसो गर्दा मन हलुका हुन्छ भन्ने लाग्छ। त्यसैले समाज चाहिन्छ भन्ने हो।
जीवनमा अहिले पछाडि फर्किएर हेर्दा के लाग्छ । पास हुनु भयो कि फेल ?
सम्पत्तिमा फेल हुनु भनेको संघर्ष गर्न पाउनु रहेछ। पढाईमा फेल भएँ। त्यसले पनि संघर्ष गर्न सिकाउँदोरहेछ। पढेको भए सायद आजको उमेरमा सचिवसम्म हुन्थे हुँला। फेल भएका कारण नै अरू बाटोहरू खोज्न पाएँ। कहिले कलाकार हुन्छु भन्ने सोेचेको थिइनँ। जितेन्द्र महत ‘अभिलाषी’ दा हुनुुहुन्थ्यो। उहाँकै संगतले रेडियोमा बोल्न पाएँ। पैसा आउँथ्यो भनेर म पछ्याउँथे रेडियोलाई। मलाई फलानोको चम्चा भन्थे। चम्चा त चम्चा म। चाँदीको चम्चा भएछु। फेल हुनु नै म पास हुनु रहेछ। म खुसी मान्छे हुँ। यति हुँदा पनि म खुसी भइन भने म गैरजिम्मेवारी मान्छे हो भन्नुपर्छ। संसारको सुखी मान्छेमा म पनि पर्छु।
तपाईँहरू (महजोडी) कलाकारिता सुरुवात गर्दा राजनीतिक र सामाजिक अवस्था कस्तो थियो र अहिले केकस्तो बदलाव आएझैं लाग्छ ?
जापानका एक जनाले भन्नुहुन्थ्यो–राजनीतिक सटायर किन गर्नु हुन्छ? त्यो त हाम्रो देशले १ सय वर्ष अगाडि गरेको थियो। अहिले ह्युमरको फेसन हुँदोरहेछ। समय आउँदो रहेछ। अश्लील कुराहरूलाई विम्बमा भन्थे। हँसाउने प्रथा सुरु भएसँगै निरन्तरता दिन सकेनौं। तल्लो स्तरको ह्युमर हुन्छ। पञ्चायत व्यवस्था थियो त्यो बेला। दैनिक पत्रिकाहरू(सरकार भन्दा बाहिरका)। व्याङ्ग्या गरेको देख्न पाइन्थ्यो। हामीले पनि त्यही सिको गर्दै व्याङ्ग्य गर्न थाल्यौं। ‘रा’ भन्ने शब्द प्रयोग गर्न दिँदैनथे। राजालाई भनेको हो भन्ने हुन्थे। उनीहरू असाध्यै संवेदनशील थिए।
राजनीतिक पार्टीहरू प्रतिबन्ध थिए। बिपी कोइराला भर्खर नेपाल फर्किनु भएको थियो। गणेशमान सिंहको घर चाक्सीबारीमा आसपास कोही नयाँ मान्छे हिँड्यो कि को मान्छे हिँड्छ भनेर रिपोर्ट पठाउने हुन्थ्यो। उहाँहरूले हाम्रो कार्यक्रम मन पराउन थाल्नु भयो। क्यासेटमार्फत् काम गरिन्थ्यो। राजनीतिक पार्टीका नेताहरूले हामीलाई फुर्क्याउन थाले। सरकारले पनि जोकरहरू त हो भनेर गम्भीर हुन्थेनन्। हाम्रो क्यासेट किनेर सुन्थे जनताहरूले। हामीले गरेको रेकर्ड राख्न थालियो। ३६, ४५, र ६२/६३ को मुभमेन्ट भयो। हामी पनि पछाडि फर्किन सकेनौं। त्यो बेला हाँस्यव्याङ्ग्य गर्दा कलात्मक हुनुपथ्र्यो। ‘१७ साल’ भन्न पाइन्थ्यो। १७ साल भन्दिन भनेर हस्ताक्षर गरियो। तर १७ साल घुमाउरो तरिकाले भन्नुपथ्र्यो। हामीले भनेको र उनीहरूले भनेको मानिन्थ्यो तर १७ भन्ने कुरालाई घुमाएर भनिन्थ्यो। अहिले ढुंगाले हानेजस्तो हुन्छ व्यङ्ग्य। पहिला नेताहरू लाज मान्थे। अहिलेका नेता लाज मान्दैनन्।
तपाईंहरूसँगै आन्दोलन गरेकाहरू शासक भए। तपाईंहरु भने अहिले पनि तिनलाई खबरदारी गर्नु पर्दा कस्तो लाग्दोरहेछ?
शासक मात्रै भए त हो, नाशक भए। हरेक देशलाई शासक चाहिन्छ। देश बनाउनु पर्छ। चलाउनु पर्छ। अनुशासन मेन्टन गर्ने पर्छ। तर शासक भन्दा नाशकहरूको बाहुल्य भयो। शासक विनाशक हो भन्ने थाहा पाउँदा–पाउँदा पनि उसैलाई छान्छौं। यो नेपालीहरूको कमजोरी हो। त्यो परिवर्तन गर्न फेरि धेरै ठूलो आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। कहिलेकाहीँ यस्तो लाग्छ हाम्रो देशको शासन हामीले चलाएकै होइन जस्तो लाग्छ।
रत्न राज्य स्कुलमा एकाण्टेन्ट र नाचघरमा जागिरे हुँदाको अनुभव सुनाइदिनु न?
हाम्रो पुर्ख्यौली घर काभ्रे थियो, जहाँ अहिले मैले केही समय अगाडि घर बनाएँ। ७० वर्षपछि फर्किनु भयो भन्दै थिए स्थानीय छिमेकीहरू। बानेश्वरमा रत्नराज्यमा मलाई एक शिक्षकले खरदार साव भन्दा नि तलको काम लगाइदिनु भएको थियो। १३५ रुपैया तलब थियो। एसएलसी जाँच दिएर रिजल्ट कुरेर बसेको समय थियो त्यो।
त्यसपछि राष्ट्रिय नाचघरमा हरिप्रसाद रिमाल र जितेन्द्र रसिक दाईहरूले लिएर जानु भएको थियो। त्यो बेला अमरसिंह भन्ने नाटकमा अभिनय गर्ने मौका पाएको थिएँ। पुरानो नाचघर बर्खामा पानीले भरिन्थ्यो। म १७ वर्षको थिएँ। नाटक गर्नका लागि जमेको पानी फ्याँक्नु पर्थ्यो। मेरो भूमिका मर्ने सिपाहीको थियो। लामखुट्टे लाग्थ्यो। टोकेर हैरान गर्थ्यो। ड्रामा हिट भयो। महिनौँ चल्यो। महिनौ मर्नु पर्यो। लेख्ने अभिनय गर्ने कम त्यही क्रममा सिकियो भन्ने लाग्छ।
राष्ट्रपतिको चुनावको ताका डाक्टर सन्दुक रुइतलाई राष्ट्रपतिका लागि सिफारिस गर्नु भएको थियो। राजनीतिक पार्टी र नेताप्रति वितृष्ण भएर हो?
राष्ट्रपति भन्नेबित्तिकै हौसिन सकियोस् भन्ने हो। हृदयबाट उठ्न मन लागोस् ढोग्न मन लागोस्। तर अहिले करले हौसिनु परेको छ। भारतमा पनि अब्दुल कलाम राष्ट्रपति हुँदा राष्ट्रपतिको गरिमा बढेको थियो। जनताहरूको मनमा श्रद्धा जागेको व्यक्तिलाई हृदय नै उठ्ने मान्छेलाई त्यो पदमा पुर्याउन पाए हुन्थ्यो कि भन्ने लागेको हो?
कलाको सत्तामा हजूर महजोडी हुनुहुन्छ। हामीले पनि राजनीतिमा जाने समय आयो भन्ने लाग्दैन?
युवा नेतृत्व भनेर व्यङ्ग्य गर्छौं। कुर्ची कहिले छोड्ने भनेर हँसाउने गरिन्छ। कलाकारले कलामा राम्रो गर्न सक्छन् भनेर राजनीतिमा पनि राम्रो गर्न सक्छन् भन्नु होइन। प्रत्यक्ष प्रधानमन्त्री तथा राष्ट्रपति बनाउने चलन छैन यहाँ। तर समर्थन लिनु पर्छ। एक्लैले सरकार बनाउन सकिन्न। चुनाव जसले पनि जित्न सक्दोरहेछ भन्ने पछिल्लो उदाहरण छन्। जसले पैसा धेरै खर्च गर्न सक्यो त्यस्तैले चुनाव जित्दोरहेछ। चोरले समर्थन दिएपछि आफू पनि चोर हुनुपर्यो। यस्तो अवस्थामा सफा व्यक्ति पनि खराब हुन सक्ने सम्भावना हुन्छ। निर्वाचन प्रणालीमा नै सुधार गर्नु पर्न देखिन्छ।
अन्तर्राष्ट्रियस्तरको फिल्म मेकिङमा तपाईँहरुको भूमिका खासै देखिएको छैन, हो ?
हाम्रो पालाको सिकाइ फराकिलो थिएन। प्रविधिसँग पनि त्यति जानकार भइएन। कागजमै लेखियो। अहिले पनि त्यही गरिरहेको छु। अहिलेको प्रविधिमा नयाँ पुस्ता आएका छन्। कमर्सियल मुभी सफल बनाउनका लागि आफ्नै बजार फराकिलो बनाउनु पर्ने छ। हिन्दुस्तान भारतमा सय करोड भारुमा बनेको चलचित्रसँग नेपाली २ करोड रुपैयामा बनेको चलचित्रले प्रतिस्पर्धी गर्नु परेको छ। आफैले गर्ने भन्दा पनि इन्करेज गर्ने हो। राम्रो फिल्म छ भने काम गर्नु पर्छ जस्तो लाग्छ मलाई। केही प्रस्ताव पनि आएको छ र केही कामका लागि मैले साइन पनि गरेको छु। अन्तर्राष्ट्रिय बजारमा पुग्ने बाटो पनि खासै स्पष्ट हुन नसकेको पनि हो कि भन्ने लाग्छ। तर मार्केट चाहिँ खोज्नुपर्छ। हामीले भन्दा पनि नयाँ पुस्ताले काम गर्ने हो। र निर्माण पनि गर्न सकिन्छ।
‘चिना हराएको मान्छे’ आत्मकथा लेख्न केले प्रेरित गर्यो?
मेरो श्रीमतीको जब देहावसान भयो, तब म विक्षिप्त भएँ। म केही समय निराश हुनुपर्यो। अनि डाक्टर रविन्द्र समीरले मलाई किताब लेख्नुपर्छ भनेर झक्झक्याइ रहनुहुन्थ्यो। दुःख परेको बेला मैले किताब लेखेँ। एक वर्ष लगाएँ। यसरी तयार भएको हो चिना हराएको मान्छे। अमर न्यौपानेजीले मेरो किताब सम्पादन गरिदिनु भयो।
तपाईंले निर्वाह गरेको पात्र मध्ये आफूलाई मन पर्ने पात्र कुन हो ?
ती सबै आफैँले जन्माएको पात्र हुन्। बनपालेमा मैले क्रुर पात्रको भूमिका गरेँ। लक्ष्मी भन्ने नाटकमा काम गरे। बलिदानमा पनि काम गरे। हाँस्यव्यङ्ग्यमा जमिरहेको समयमा विभिन्न पात्रको भूमिका गरेँ। हरिबहादुर पात्र चाहिँ सजिलो पात्र हो। अनलाइन कक्षा लिनु पर्दा मलाई हरिबहादुरले धेरै सघायो। साथै हरिबहादुर भनेको आपतकालिन पात्र हो, जसलाई म अचानक आफ्नो प्रस्तूति दिन सक्छु। आपतकालिन पात्र हो हरिबहादुर।
तपाईँको पात्रमा मदनकृष्ण श्रेष्ठले अलिकति ठगेको जस्तो लाग्दैन ?
बत्ती बल्न त केही भाग अध्याँरो चाहिन्छ। नेगेटिभ पात्रको भूमिका लेख्यो कि मेरो भागमा पर्छ। पोजिटिभ भन्दा मान्छेले नेगेटिभले मन पराउँछ। त्यसले पनि फाइदामा म परेझैं लाग्छ।
चालिस वर्षको कलाकारिताको यात्रामा नेपाललाई हेर्दा ‘नेपाल खत्तमै छ ‘भन्ने लाग्छ?
मान्छेको महत्वकांक्षा पनि खत्तमै छ। तर देश कामै नलाग्ने पनि भएको छ जस्तो लाग्दैन। जस्तै पूर्वदेखि पश्चिमसम्म गाडीमा हिँड्दा केही सम्पनता देखिएको छ। दिगो विकास हुनु पर्ने थियो तर भएन। त्यसैले मान्छेहरू बढी निराश छन्। अलकत्रामा पनि मान्छेले भ्रष्टाचार गर्नाले मान्छे निराश भएका हुन्। छिमेकीहरूलाई हामी गाली गर्छौं। छिमेकीसँग पनि हाम्रो राम्रो सम्बन्ध छैन। हाम्रो बाल्यकालमा जडौरी खोज्न पनि गाह्रो हुन्थ्यो। तर हामीले उत्पादन गर्न नसके पनि छिमेकीले सस्तो सामान उत्पादन गरेका कारण हामीलाई सजिलो देखिएको छ। हाम्रो लगाइखुवाइमा सम्पन्नता देखिएको छ। कोही मान्छे पनि सम्पन्नता छैन। उनीहरूको जीवनस्तर मात्रै उठेको छ।
के पक्ष सकारात्मक भयो भने कामलाई निरन्तरता दिन सकिन्छ?
म काम नगरी बस्नै सक्दिनँ। रिल्याक्स भनेको कहिले पनि गर्दिनँ। मेरो कामले नै घुमाइरहेको छ। संसारको धेरैवटा देश घुमेको छु। यो कामले दिएको हो। असफल भएको भए अर्को बाटो हिँडिन्थ्यो होला। तर यही बाटोमा सफल भइएको छ। निरन्तरता दिदै आएकोले पनि टिक्न सकेको छु। उमेरअनुसार शरीर र मष्तिस्क राम्रो भएसम्म काम गर्ने हो भन्ने लाग्छ। यो अवकास नहुने पेशा भएकाले निरन्तरता दिन सकिएको छ।
विभिन्न जनचेतनामूलक विज्ञापनमा पनि काम गर्नु भएको छ। पञ्चायतको श्राद्ध पनि गर्नु भएको छ र लोकतन्त्रलाई पनि खबरदारी गर्नु भएको छ। यस किसिमको प्रेरणा र सामग्री कसरी जुटाउनु हुन्छ?
राजनीतिक स्क्रीप्ट लेख्दा आरोप लाग्छ भनेर कसैसँग पनि सल्लाह लिइदैनथ्यौं। मदन दाइ र मैले नै काम गरिन्थ्यो। आफैले प्रयास गरेको हो। हामीले गरेको कामलाई सबैले विश्वास गर्नुभयो। विभिन्न संघसंस्थाले पनि पत्याउनु भयो। हामी हृदयले काम गर्यौँ। हरेक कार्यक्रमबाट घाटा खाने गरिन्थ्यो। जति कमाईन्थ्यो रंगमन्चबाट हुन्थ्यो। म्यासेज वरिटेन्ट फिल्म बनाउने भनेपछि हामीलाई सम्झिनेहरू धेरै हुनुहुन्छ । त्यसो हुँदा आर्थिक रूपमा पनि सफल हुन सकियो। जुन विषयमा काम गर्ने हो त्यो विषयमा आफूले अध्ययन गरिन्थ्यो। पढ्न र लेख्न मन नपर्ने कुरा हुँदाहुँदा पनि म अहिले त्यही काम गरेको छु।
पूरा भिडियो: