
काठमाडौं- तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको छ।
तीज कार्यक्रममा लागि अस्ट्रेलिया जाने तयारीमा रहेकी अधिकारीको भिसा के कारणले गर्दा रद्द भयो, स्पष्ट नभए पनि उनले अघिल्लोपटक लगेकी केयर टेकरका कारण रद्द भएको बुझिएको छ। उनी गत बर्ष सिड्नी जाँदा केयर टेकरका लागि भन्दै दिदीलाई पनि लिएर गएकी थिइन् तर फर्किँदा उनी मात्रै फर्किइन्, दिदीलाई उतै छोडेर आइन्।
पुन: अस्ट्रेलिया जानका लागि उनले अर्को केयर टेकरसहित भिसाका लागि निवेदन दिइन् तर दुईजना केयर टेकरबारे प्रश्न उठाउँदै समीक्षाको एक वर्षका लागि लागिसकेको भिसा अस्ट्रेलियाले रद्द गरिदिएको हो।
समीक्षा १८ वर्ष पूरा भइनसकेकाले उनले केयर टेकर सहित निवेदन दिएकी हुन्। १८ वर्षभन्दा कम उमेरका व्यक्तिले केयर टेकर लैजान पाउने व्यवस्था छ।
उनको भिसा के कति कारणले रद्द भयो यसको औपचारिक विवरण सार्वजनिक भएको छैन। उनी यसपालिको तीजमा १३ वटा कार्यक्रमका लागि समीक्षा अस्ट्रेलिया जाने कार्यक्रम थियो।
भिसा रद्द भएपछि सामाजिक सञ्जालमार्फत समीक्षाले आफूलाई अष्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारी दिएकी छन्।