
सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ। हिमालयन आँखा अस्पताल घोरेपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको आर्थिक तथा व्यवस्थापनमा पालिका केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घोरेपाटन पोखरा र चङखेली गाउँपालिकाबीच समझदारी पत्रमा सम्झौता भएको छ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष शाही र हिमालयन आँखा अस्पतालका तर्फबाट प्रबन्धक डा. ईलिया श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी पाँच वर्षका लागि हुनेछ। उपचार केन्द्र स्थापना गर्न आईकियर फाउन्डेसन नेपालका प्रमुख अनिल गोर्खाली, चिफ मेडिकल डाइरेक्टर डा. ईलिया श्रेष्ठलगायतको अतुलनीय योगदानबाट आवश्यक उपकरण हस्तान्तरण गरी पालिकामा आँखा उपचार केन्द्र स्थापनामा सहयोग गरेको अध्यक्ष शाहीले बताए।
चंखेली गाउँपालिका आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन लाग्ने जिल्लाको दोस्रो पालिका रहेको छ। सरमुकाम सिमकोटमा एक मात्रै आँखा उपचार केन्द्र छ भने यसअघि नाम्खा गाउँपालिका केन्द्रमा पनि सो केन्द्र स्थापना भइसकेको छ।