
चितवन – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा शिनबार राति साढे १० बजेतिर ठूलो पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो ।
तर अहिले पहिरो हटाएर बाटो खुलाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।
आइतबार बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको थियो । पहिरो पन्छाएर बिहान पौने १० बजेतिर बाटो खुलाइएको इन्जिनियर खनालले बताए ।
शनिबार दिनभरजसो पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । त्यसले गर्दा अहिले गाडीको चाप रहेको छ । पहिरो पन्छाएको क्षेत्रबाट गाडी पार हुन केही समय लाग्ने इन्जिनियर खनालले बताए ।
निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।