
पोखरा – पोखरा गाईजात्रामय बनेको छ। बिहीबार पोखरामा ३३ टोलीले गाईजात्रा देखाएका हुन्।
नेवार समुदायको बाहुल रहेको हरेक टोलटोलमा गाईजात्राको माहोल थियो। सडकमा पनि गाईजात्राको रौनक देखियो। झरीको प्रवाहा नगरीकन विहानैदेखि गाईजात्रा निकालिएको थियो।
गाईजात्रा दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गार्ई वा मानिसलाई गार्ईका रूपमा सिंगारी परिक्रमा गराउने प्रचलन छ। यसरी परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति गार्ईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार पोखरामा २०५६ सालसम्म नेवारी बस्तीहरुमा मात्रै स्वतस्फुर्त रुपमा गाईजात्रा निकालिन्थ्यो। ‘आजकाल पोखराभर गाईजात्राको रौनक हुन्छ’, उनले भने। नेवा खल कास्कीको संयोजनमा गाईजात्रा निकालिने उनको भनाइ छ।
पोखरामा निकालिने गाईजात्रामा यूवापुस्ताको निकै आकर्षण छ। पोखराका ३३ टोलीले देखाएको गाईजात्रामा नयाँ पुस्ता नै नाँचेको पालखेको भनाइ छ।