
अ
+
अ
अ
-
टीकापुर (कैलाली) – कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ। एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ।
टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन्। विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो। यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेललगायतको टोलीले ३० दिन लगाएर बच्चा बचाउन सफल भयो।
बालरोग विशेषज्ञ डाक्टर ठाकुरले बच्चालाई जटिल समस्या भए पनि ३० दिनको उपचारपछि घर पठाएको जानकारी दिए। “मलाई पनि खुसी लागेको छ, बच्चा पटक–पटक श्वास फर्न बिर्सने, निलो भइहाल्थ्यो, सबैको प्रयासमा बचाउन सकियो”, उनले भने, “समय अगावैको बच्चा बचाउन निकै चुनौती हुन्छ।”
डाक्टर ठाकुरका अनुसार यसअघि ३२ हप्ता माथिका बच्चाको उपचार भए पनि ३१ हप्ताको बच्चा पहिलो पटक उपचार गरेको र उपचारमा लामो समय लागेको हो। बच्चा घर फर्कंदा एक किलो सात सय ग्राम पुगेको थियो।
समयअगावै जन्मेको बच्चालाई विभिन्न खाले सङ्क्रमणको जोखिम, कमलपित्त देखिनेजस्ता समस्या हुन्छन्। टीकापुर अस्पतालमा एनआइसियु सुविधा नभएकाले बच्चालाई अक्सिजनले मात्र काम नगर्दा चिकित्सकले ३० दिनको प्रयासपछि बच्चाको स्वास्थ्यमा सुधार आयो। “सिप्याप मेसिन हामीसँग छैन, सिप्याप मेसिन नभएकाले वाटर बबलको सहायतामा बच्चालाई श्वास लिन नबिर्सियोस् भनी सघायौँ”, उनी भन्छन्, “हामीले बोतलमा पानी भरेर ‘बबल सिप्याप’ बनाएर सास फेर्न सहज बनायौँ।”
डाक्टर ठाकुरले समयअगावैको बच्चा जोगाउन चुनौती धेरै हुने जनाउँदै बच्चाका अभिभावकले गरेको विश्वास र सहयोगले थप हौसला मिलेको बताए। उपचारका क्रममा बच्चालाई दुई पटक कृत्रिम श्वास दिनुपरेको र दुई पटक रगत चढाइएको थियो। बच्चालाई २६ दिनसम्म अक्सिजनमा राखिएको थियो। बच्चालाई उपचारकै क्रममा कमलपित्तसमेत देखिएपछि फोटो थेरापी उपचारसमेत गरिएको बताइएको छ। यसका साथै ‘केएमसी’ (मायाको अंगालो) पद्धती आमालाई सिकाइएर उपचार गरेको नर्सिङ अधिकृत मञ्जु पौडेलले बताइन्।
“अभिभाभकले नआत्तिकन साथ दिए, उनीहरुको आर्थिक अवस्था पनि कमजोर थियो”, उनले भने, “रगत पनि निःशुल्क उपलब्ध गराइयो, निकै मेहनतपछि बच्चा बचाउन सकियो।” एक महिनाको उपचारपछि बच्चाको स्वास्थ्यमा सुधार आउँदा सुत्केरी विनिता र उनको परिवार निकै खुसी भएको छ।
“एकातिर पहिलो सन्तान, त्यसैमाथि समयअगावै बच्चा तयारै नभएर जन्मियो”, उनले भने, “चिकित्सक भगवान हुने रहेछन्, सास नै नफेर्ने मेरो बच्चा निकै मेहनत गरेर बचाइदिनुभयो, म उहाँहरुप्रति कृतज्ञ छु, मैले ३० दिन अस्पताल बस्दा बच्चाको स्याहारबारे धेरै कुरा सिकेकी छु।”
टीकापुर अस्पतालमा दैनिक ५० भन्दा बढी बच्चा उपचारमा आउने गरेका छन्। अस्पतालमा भौतिक पूर्वाधार शय्या अभावले भर्ना हुन पालो कुर्नुपर्ने बाध्यता छ। एकाउन्न शय्याको मात्र अनुमति पाएको टीकापुर अस्पतालमा अस्पताल आफैँले थपेर ७८ शय्या सञ्चालनमा ल्याएको छ। अस्पतालमा २५ देखि ३० जनासम्म बच्चा मात्रै भर्ना भएर उपचार लिइरहेका हुन्छन्।
अस्पतालमा कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिकाका साथै बर्दियाको राजापुरका बिरामी पनि उपचारमा आउने गरेका छन्। अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीलाई राहत भएको छ। विशेषगरी बालरोग सेवाले बच्चाका अभिभावकलाई ठूलो राहत भएको स्थानीय बताउँछन्।