
सोलुखुम्बु, लिखुपिके गाउँपालिका-२ मा वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको आरोपमा ३ जना विरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको छ।
लिखुपिके गाउँपालिका- २ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत सहित राजेन्द्र भण्डारी र जिवन सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
बस्नेतले लिखुपिके गाउँपालिका-२ को भवन निर्माणको लागि जग्गा नि:शुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानी देखाएका थिए।
भुक्तानीका लागि लिखुपिके गाउँपालिकामा पेश गरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी दिएका थिए। भुक्तानी नै दिन नमिल्ने ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन्।
उनका अनुसार उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भए बमोजिमको कसुर गरेको हुँदा बिगो कायम गरी ऐन बमोजिमको सजाय माग गरिएको छ।