
पोखरा- अग्रज पोखरेली फोटोग्राफर विश्व शाक्यको ‘सीप शिल्पी र फोटोग्राफी’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको वरिष्ठ शिक्षा विद् जर्ज जोनले विमोचन गरेका हुन्।
फोटोग्राफर संघ गण्डकीको पाँचौं वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन गरिएको हो।
झन्डै पाँच दशक लामो समय फोटोग्राफीमा योगदान पुर्याएका शाक्यलाई बिहे-बटुलो, व्रतबन्ध र सरकारी कामकाजमा मात्र सीमित पोखरेली फोटोग्राफीलाई पोखराको सुन्दरतासँगै कला भरेर फराकिलो बनाएको श्रेय जान्छ।
७३ वर्षीय शाक्यले कोराना कहर सिर्जनालाई पुस्तक बनाएको बताए। उनी भन्छन्, ‘यो पुस्तक मेरो फोटोग्राफीको अन्तरकथा हो। नयाँ पुस्तालाई सिक्ने माध्यम बन्न सक्छ।’
शाक्यले यस अगावै ३१ कृति प्रकाशनमा ल्याएका छन्। २०७५ सालमा ‘पोखरा हिजो र आज’ नामक फोटोग्राफी सम्बन्धित नै पुस्तक बजारमा ल्याएका थिए। विभिन्न समयमा उनले ७ वटा फोटो प्रदर्शनी समेत गरेका छन्।
फोटोग्राफीसँगै शाक्यले विभिन्न पत्रपत्रिका, टेलिभिजन र रेडियोमासमेत आबद्ध भएर काम गरेका थिए।
फोटोग्राफर संघ गण्डकीले नेचर एण्ड ल्याण्डस्केप फोटो प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको छ।
१८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित फोटोग्राफी प्रतियोगितामा रोहित गिरिले खिचेको तस्बिर उत्कृष्ट घोषित हुँदै १० हजार रुपैयाँसमेत प्राप्त गरेका छन्। ५० फोटोग्राफरका १५० फोटो प्रतिस्पर्धामा सहभागी थिए।
यस्तै, मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारसमेत वितरण गरिएको छ। यस विधामा १५० फोटोग्राफरले १२०० बढी फोटो पठाएका थिए। विजय शर्माको फोटो सर्वोत्कृष्ट घोषित भयो। उनले १५ हजार ५५५ रुपैयाँ प्राप्त गरे।