
सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा गरेको पाइएको छ।
आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यलाई स्वास्थ्योपचारमा सहयोग पुर् याउनका लागि निःशुल्क स्वास्थ्य बिमा गरिएको हो।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले सहज रुपमा स्वास्थ्य उपचार विपन्न वर्गका मानिसले पनि गरुन् भन्नका लागि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको बताए।
उनले हुने खानेले बिरामी भए सहजै उपचार गर्न सक्ने तर हुँदा खानेले ऋण काढेर भए पनि उपचार गर्नुपर्ने अवस्था देखिएपछि पहिलो पटक गाउँपालिकाले लगानी गरेर स्वास्थ्य बिमा गरिदिएको बताए।
वडाको सहयोगमा विपन्न परिवार छनोट गरेर यो कार्यक्रम लागू भएको जानकारी दिँदै स्वस्थसँग बाँच्न पाउने नागरिकको अधिकारमा गाउँपालिकाको ध्यानाकर्षण भएको हो।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले पहिलो पटक वडा नम्बर १,२ र ३ का विपन्न ३१० घरधुरीका नागरिकलाई स्वास्थ्य बिमा गरिएको बताए।
गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली उपचार गर्न जाने क्रममा विपन्न नागरिकले उपचार गर्न आर्थिक समस्या भएको गुनासो गरेको र त्यो कुरा गाउँपालिकासम्म पुर् याउँदा जनप्रतिनिधि सकारात्मक भएकाले निःशुल्क स्वास्थ्य बिमा गर्न सम्भव भएको हो।
बिमाका लागि पाँच जना सदस्यसम्म भएको घरधुरीलाई तीन हजार पाँच सय र त्योभन्दा बढी सदस्य भएको घरधुरीका लागि थप्ने रुपैयाँ पनि गाउँपालिकाले नै लगानी गरेको छ।
यसका लागि नौ लाख ९३ हजार रुपैयाँ गाउँपालिकाले लगानी गरेको छ। स्वास्थ्य बिमा भदौ १ गतेबाट लागू भएको छ। छनोट भएका घरधुरीलाई निःशुल्क गरिएको स्वास्थ्य बिमाबारे जानकारीसमेत गरिएका कारण बिरामी भएमा सो सेवा उपभोग गर्न सेवाग्राहीलाई उनले आग्रहसमेत गरे।
गाउँपालिकाले पहिलो वर्ष तीन वटा वडाका लागि गरेको र दोस्रो वर्ष बाँकी तीन वटा वडाका नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारीसमेत गरेको छ।