
काठमाडौँ – न्यूरो सर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी दक्षिण एसियाली सम्मेलन ९ सेप्टेम्बर २०२३ मा सम्पन्न भएको छ। नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष डा. प्रवीण श्रेष्ठका अनुसार सेप्टेम्बर ७ देखि ९ सम्म आठौँ दक्षिण एसियाली न्यूरो सर्जरी शिखर सम्मेलन काठमाडौँमा सम्पन्न भएको हो।
सम्मेलन सन् १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो। नेपालमा यो सम्मेलन यसअघि सन् १९९९ र २०१२ मा गरी दुई पटक भइसकेको छ।
विगत करिब ६ वर्षदेखि र कोरोनाकालमा सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्यूरो सर्जन समाजले तेस्रो पटक आठौँ शिखर सम्मेलन नेपालको आयोजना गरेको हो।
तीन दिनसम्म चलेको उक्त सम्मेलनको पहिलो दिन सेप्टेम्बर ७ मा न्यूरो सर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरो सर्जरीसम्बन्धी विविध विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तालिम दिने वर्कशप सञ्चालन गरिएको थियो। दोस्रो र तेस्रो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा न्यूरो सर्जरीसम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।
सम्मेलनमा दक्षिण एसियाली देशलगायत अमेरिका, क्यानाडा,जापान, चीन, कोरिया, इजरायल,नेदरल्याण्ड्स, फिलिपिन्सलगायत देशबाट न्यूरो सर्जरीसम्बन्धी विज्ञहरुको सहभागिता रहेको थियो।
सम्मेलनमा १५ भन्दा धेरै देशबाट २०० भन्दा धेरै विज्ञहरुको सहभागिता रहेको थियो। जहाँ करिब १२० जनाले १६० वटाभन्दा धेरै कार्यपत्रहरु प्रस्तुत गरेका थिए।
सम्मेलनलाई दक्षिण एसियाको न्यूरो सर्जरीसम्बन्धी सबैभन्दा ठूलो सम्मेलन मानिन्छ। सम्मेलनको नारा ”दक्षिण एसियामा न्यूरो सर्जरी: प्रगती, उपलब्धि तथा भविष्यमा सहकार्य” राखिएको थियो।
सम्मेलनको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा सम्मेलनका अध्यक्ष डा. प्रवीण श्रेष्ठले शुक्रबार साँझ गरेका थिए।
नेपालमा हाल करिब ११४ जना सक्रिय न्यूरो सर्जनहरु रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकाभित्र कार्यरत छन् भने बाँकी देशका अन्य स्थानहरुमा कार्यरत छन्।