
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको नेतृत्वमा राजालाई पनि स्पेश दिन प्रमुख राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।
बुधबार राप्रपाले काठमाडौँमा आयोजना गरेको देशको रक्षा र भ्रष्टाचार विरुद्धको आमसभा तथा र्यालीलाई सम्बोधन गर्दै लिङदेनले प्रमुख राजनीतिक दलहरुसँग यस्तो आग्रह गरेका हुन्।
लिङदेलनले देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न कांग्रेस, एमाले र माओवादीलाई आग्रह गरेका हुन्।
उनले भने, ‘राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यति धेरै जनप्रतिधि भारी हुन्छ। संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं।’ उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्।
लिङदेनले कांग्रेस, एमाले र माओवादीलाई सम्बोधन गर्दै भने, ‘देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन। सुध्रनुहोस्। कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं। ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो। यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ। त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ।’