काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आयोजित ‘नाडा अटो शो २०२३’ मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा चलिरहेको छ।
टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित मेला भदौ ३१ गतेसम्म चल्नेछ । नेपालको अटो क्षेत्रको कुम्भमेला मानिने नाडा अटो शोमा यसपटक विभिन्न ब्रान्डका नयाँ-नयाँ गाडीहरु पनि सार्वजनिक भएका छन् । कोरोना संक्रमणका कारण चार वर्षसम्म स्थगित भएको यो शो पुन यसपालिबाट सुरु भएको हो। शोमा १६ ओटा ब्राण्डका चारपांग्रे, २२ ओटा ब्राण्डका दुईपांग्रे, सातओटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ ओटा वित्तीय संस्था, ३० ओटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको समेत सहभागिता रहेको छ ।
सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको समेत प्रदर्शनी यो मेलामा रहेको छ । आयोजक नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी १२० ओटा स्टल र ब्लक रहेका छन् । मेलामा दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुने नाडाले बताएको छ ।
मेलामा हुन्डाई, सुजुकी, टाटा, बिवाइडी, एमजी लगायत ब्रान्डहरूका नयाँ गाडी सार्वजनिक गरिएका छन् । साथै सेरेस, स्काइवेलगायत नयाँ ब्रान्डका गाडी पनि सहभागी छन्। ६ दिनसम्म चल्ने यस शोमा करीब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान नाडाले गरेको छ भने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै मेलामा वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुने नाडाले बताएको छ ।
कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध र त्यसको असरका कारण आर्थिक गतिविधि कमजोर बनिरहेको बेला आयोजना गरिएको मेलामा अनुमान र अपेक्षाभन्दा ठूलो मात्रामा कारोबार र आर्थिक गतिविधि भइरहेको आयोजक नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को दाबी छ।
कोभिड महामारी महामारी र सवारीसाधन आयात बन्द भएका कारण विगत तीन वर्षदेखि रोकिएको शो यसपटकबाट पुन निरन्तर गर्न पाउँदा थुप्रै नयाँ नयाँ मोडलका गाडीहरु समेत शोमा राख्न पाइएको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन्। ‘कोरोना कालभन्दा अघिसम्म हरेक बर्ष शो हुने भएकोले केही कम मात्रामा मात्रै नयाँ मोडलहरु हामीले शोमा देखाउँन पाउँथ्यौँ तर यसपालि भने लामो समयको ग्याप भएकोले गर्दा पनि बजारमा थुप्रै नयाँ मोडलका गाडीहरु आइसकेका छन्। ति सबै मोडलहरु हामीले शोमा आकर्षणको रुपमा राखेका छौं,’ उनी भन्छन्, ‘बजारमा धेरै ब्रिक्री हुने गरेका र ग्राहकले धेरै रुचाउनु भएका मोडलहरु त हुने नै भए, त्यससँगै प्रायजसो हरेक कम्पनीहरुको नयाँ मोडलहरु पनि शोमा राखिएको छ।’
शोमा राखिएका गाडीहरु खरिद गर्नका लागि विभिन्न कम्पनीहरुले आ-आफ्नै तरीकाले अफरहरु समेत राखेको उनले बताए। उनका अनुसार सवारी कर्जाका लागि बैंकहरुसँग सहकार्य गरी सहजता दिलाउने, शोकै क्रममा खरिद गर्दा छुट दिने, एक्सचेन्जको सुविधा लगायतका अफर पनि राखिएको छ।
कोरोनापछिको पहिलो ‘नाडा अटो शो’ ले बजार क्षेत्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने उनी बताउँछन्। ‘आर्थिक मन्दीले बजारलाई झपक्कै छोपेको बेला हामीले शो आयोजना गर्यौँ, हामीलाई डर त पक्कै थियो सहभागिता कम पो हुने हो कि भनेर तर हामीले सोचेको भन्दा धेरै राम्रो र उत्साहजनक सहभागिता हामीले पाइरहेका छौं,’ उनी भन्छन्, ‘जुन किसिमको उत्साहजनक सहभागिता छ त्यसबाट मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौं।‘
बजारमा नयाँ-नयाँ मोडलका आकर्षक विद्युतीय गाडीहरु निस्किरहेको बेला पछिल्लो समय निजी सवारी साधन प्रयोगकर्ताहरुको रोजाइमा विद्युतीय गाडीहरु पर्न थालेको उनको भनाइ छ। उनी भन्छन्, ‘शोमा सबै किसिमका सवारी साधन राखिएको छ। त्यसबाट ग्राहकहरुले आफूलाई मन परेको मोडलको बारेमा बुझ्नु हुन्छ र खरिद गर्नु हुन्छ। तर यसो भइरहँदा नीजि सवारी साधन प्रयोग गर्नेहरु धेरैको रोजाइमा विद्युतीय सवारीमा परेको अनुभव हामीले गरेका छौं।’
विद्युतीय सवारी साधन अहिलेको ग्लोबल ट्रेण्डसमेत रहेकोले ग्राहकहरुको रुचिमा पर्ने गरेको उनको भनाइ छ।
विश्वबजारमा चलेको र भर्खरै लञ्च भएका गाडीहरु पनि शोमा राखिएको छ । यस्तै, लक्जरियस र कर्मसियल भेइकलमा भने डिजेल, पेट्रोलका सवारी साधानहरु शोमा उपभोक्ताले पाउन सक्ने उनी बताउछन्।
पूरा भिडियो: