
काठमाडौँ – सुरुवाती अवस्थामा नै अल्जाइमर्सको पहिचान गर्न सके जोखिम कम हुने विज्ञहरुले बताएका छन्।
विश्व अल्जाइमर्स दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरुले सुरुवाती अवस्थामा नै अल्जाइमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन्।
बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै सुरुवातमा रोगको निदान आवश्यक पर्नेमा विज्ञहरुको जोड छ। अल्जाइमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो। यो रोग लागेको व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ।
विज्ञहरुका अनुसार अल्जाइमर्स रोगले सोचाइ, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्याइ व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ। बारम्बार एउटै कुराहरु सोधिरहनु, आफूले राखेका सामानहरु फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरु गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्याहरु समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षिण हुनु, देखेका कुराहरु नचिन्नु अल्जाईमर्स रोगका लक्षणहरु हुन्।
न्युरोलोजिष्ट डा.राजु पौडेलले अल्जाइमर्सलाई विस्मृति रोगका रुपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताए। अल्जाइमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनु भएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने उनले बताउ।
अल्जाइमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तुहरु विस्तारै सुक्दै जाने उनको भनाइ छ। डा.पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको उल्लेख गरे।
उनले अल्जाइमर्स भएका व्यक्तिहरुले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताए। अल्जाइमर्स भएकाहरुले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए।
उनले रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै समयमै उपचार गर्न सके अल्जाइमर्स बढ्ने क्रमलाई कम गर्न सकिने बताए। अल्जाइमर्स भएकाहरुले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादकपदार्थ सेवन गर्न नहुने बताए। अल्जाइमर्स भइहाले स्मरणशक्ति बढाउने खालको औषधिहरु दिन सकिने उनले बताए।
मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैलीलगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरु बताउँछन्। ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुको जोड छ।