
खुल्ला निलो आकाश, उसैगरी खुलेका हिमाल। हरियाली डाँडापाखा। गुजमुज्ज परेको बस्ती। छिनभरमै बाक्लो हुस्सुले घान्द्रुकको बस्तीलाई छपक्कै ढाक्छ। केहीबेरमा हुस्सुले घुम्टो उघाँरिदिन्छ। उसैगरी वर्षात्ले बस्तीलाई निर्थुक्कै रुझाउँछ पनि।
कास्कीको अन्नपूर्ण गाउँपालिका- १० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकको दृश्य यतिबेला बडो रोमाञ्चक देखिन्छ। चर्चित पदमार्ग अन्नपूर्ण सर्किट, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक गाउँलाई पर्यटकीय सिजन सुरु भएसँगै अतिथि सत्कारमा प्राकृति दृश्यले पनि निकै साथ दिइरहेको छ।
दृश्यपान गर्दै रमाउने छिटफुट पर्यटक घान्द्रुक उक्लनसमेत थालेका छन्। अतिथि सत्कारका लागि घान्द्रुकका ५५ होटल र १८ होमस्टे पनि तम्तयार भएर बसेका छन्।
बाटोभरी फरफराइरहेका झरना, जंगलमा फुलेका थरीथरीका फूलले पनि त पाहुँनाको पादचाप पर्खिरहेको छ।
थप तस्बिरहरू: