कांग्रेसको सभामा कुटुमा कुटु

 कांग्रेसको सभामा कुटुमा कुटु
+
-

काठमाडौं-नयाँबानेश्वर चोकको छक्कु बक्कु पार्कअगाडि नेपाली कांग्रेसको सभा आयोजना भइरहेको थियो भने एभरेष्ट होटल अगाडिपट्टि एकीकृत राप्रपा राष्ट्रवादीको कार्यक्रम थियो। बानेश्वर चोक आसपास फुटपाथमा पसल गर्नेहरु आफ्नै सुरमा व्यस्त थिए। कोही नेताका भाषण सुन्दै थिए, कोही सामान बेच्दै।

बानेश्वरमा धरै मानिस जम्मा भएकाले आमसभामा सहभागीहरुलाई बदाम बेच्ने प्रतिस्पर्धा चल्दै थियो। ठेलागाडामा बदाम बेच्दै गरेकी सिन्धुली घर भएकी डम्बरी देवकोटाले जिस्किँदै भनिन्, ‘बदाम बेचेर भोट हाल्न जाने खर्च जुटाउँ भनेको, मान्छे भन्दा बदाम बेच्ने बेसी भए।’

सर्लाही घर भएका सन्तोषकुमार दाशलाई पनि ठूलाठूला माइक बज्दै भइरहेको चुनावी सभाले छोएको थिएन। बेलुका व्यापार गर्न आफ्ना सामान मिलाउँदै उनले देशसञ्चारसँग भने, ‘अस्ति कार्यक्रम गर्नेले सडक नै कब्जा गरेको थियो, आज जे होस् गाडीलाई जान दिइएको छ।’

व्यस्त बानेश्वर चोकमा गत मंगलबार बाम गठबन्धनले सडक अवरोध गरी कार्यक्रम गरेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सर्लाही ४ का मतदाता रहेका दास मंगलबार मत दिन गाउँ जाने बताए।

नेपाली कांगेसको कार्यक्रममा सहभागीका लागि व्यवस्था गरिएका कुर्ची नपुगेर धेरै मानिसह उभिएका देखिन्थे भने एकीकृत राप्रपा राष्ट्रवादीको कार्यक्रममा सहभागीको तुलनामा कुर्ची धेरै थिए।

चर्चित गीत कुटुमा कुटु, सुन साहिँली, काले दाइ काले दाइ, ठमेल बजार लगायतको लयमा कांग्रेसलाई मत माग्दै बनाएका गीतहरु बजिरहेका थिए। कार्यक्रम स्थलको सुरक्षाका लागि तालिमप्राप्त कुकुरहरु पनि प्रयोग गरिएका थिए।

सधैँजस्तो चहलपहल हुने छक्कु बक्कु पार्कमा आज दिउँसो अन्य दिन भन्दा बढी भिड थियो। पार्कमा कुसुन्ती ललितपुरका ७५ वर्षीय कृष्णबहादुर लिम्बू नयाँ पार्टीले असन्तुष्ट भोट तान्ने हुँदा निर्वाचन जित्न पर्याप्त नहुने बताउँदै थिए। ६ वर्ष ब्रिटिस आर्मीमा काम गरी छाडेर नेपाल आई पञ्चायतकालमा ४ कार्यकाल प्रधानपञ्च भएका लिम्बू नेकपा एमालेका अध्यक्ष केपी ओली उठेको क्षेत्र झापा ५ मा नामावली भएकाले सोमबार दमक जाँदै थिए। ‘काठमाडौं १ मा प्रकाशमानलाई कसैले हल्लाउन सक्दैन,’ लिम्बूले भने।

‘नेपाली कांग्रेसले केही गल्ती त गरेको छ,’ २०३५ सालदेखि कांग्रेस क्रियाशील सदस्य रहेको बताउने काठमाडौं १ का मतदाता बिष्णु प्रजापतिले भने, ‘तैपनि लोकतन्त्रको रक्षाका लागि कांगेसलाई नै मत दिन्छु।’

केही मानिसहरु चुनावी कार्यक्रममा व्यस्त रहँदा फुटपाथमा सामान किन्ने र बेच्नेको भिड उस्तै थियो। बेलुका सधैंजसो चहलपहल हुने बानेश्वरमा चुनावी कार्यक्रमले भीडभाड बढाएको देखिन्थ्यो।

कांग्रेसका प्रदेश सभा उम्मेदवार दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछाने सँगै प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले बाम गठबन्धनको कडा आलोचना गरेका थिए। विवेकशील साझा पार्टीलाई व्यंग्य गर्दै सिंहले सामाजिक सञ्जालबाट जन्मेको पार्टीले जनताका समस्या बुझ्न नसक्ने भन्दै जनताको दुख र कष्ट बुझेको पार्टी नेपाली कांग्रेसलाई मत दिन आग्रह गरे।

उनले अहिले धेरै मिडियाहरुले मिसन पत्रकारिता गरिरहको आरोप लगाए। ‘मिडियामा नेपाली कांगेसले गरेका राम्रा कामहरु प्रकाशित हुदैनन्,’ सिंहले भने, ‘तर केही साना कमजोरीहरु भए ठुला अक्षरमा प्रकाशित हुने गर्छन्।’

उनले २०४७ मा प्रजातन्त्रको पुनर्स्थापनापछि कांग्रेसले नै मिडियालाई राज्यको चौथो अंगको रुपमा मान्दै निर्भयपूर्वक लेख्न पाउने वातावरण बनाएको उल्लेख गर्दै वाम गठबन्धनले निर्वाचन जिते उनीहरुले मिडियालाई नियन्त्रण राख्ने दावी गरे।

कांग्रेसले संविधान दिन्छु भन्दै २०७० मा मत मागेको स्मरण गराउँदै  उनले अब सम्वृद्धिका लागि मत मागिरहेको र निर्वाचित भए देशलाई सम्वृद्ध बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

करिब १ घण्टा भाषण गरेका सिंहले अरुको आलोचनाभन्दा पनि मतदाताको तारिफमा समय खर्च गरेका थिए।

कार्यक्रममा ढिलो गरी सहभागी भएका काँग्रेस युवा नेता गगनकुमार थापाले भने, ‘२०७० सालमा मत माग्न जाँदै गर्दा मतदाताले बिजुली चाहियो भन्नु हुन्थ्यो तर अहिले उहाँहरुले लोडसेडिङलाई भुल्नु भएको छ। ठिक त्यसै गरी कांग्रेसले संविधान ल्याउन गरेको योगदान मतदाताले स्मरण गर्न  सकेका छैनन्।’

उनले प्रश्न गरे, ‘एकपटक सम्झिनुस् २०७२ सालमा संविधान नआएको भए के हुन्थ्यो?’ काँग्रेसको मध्यमार्गी चरित्रका कारण देशले संविधान प्राप्त गरेको भन्दै संविधान कार्यान्वयनका लागि संसदमा काँग्रेस जस्तो मध्यमार्गी पार्टी गणितीय रुपमा बलियो हुनु पर्ने बताए।

कांग्रेसको कार्यक्रमको तुलनामा एकीकृत राप्रपा राष्ट्रवादीको कार्यक्रममा सहभागीको संख्या कम भए पनि उक्त पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र अहिलेको आवश्यकता हो भनिरहेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?