
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सरकारमाथिको असन्तुष्टिको कारण आफूमाथि खुकुरी प्रहार भएको बताएका छन्। भदौ २० गते रिपोर्टर्स क्लवमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा रिपोर्टस क्लब परिसरमा यादवमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।
घाइते भएका यादव उपचारपछि निको भएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा सोमबार सम्वोधन गर्दै यादवले सरकार र बिषेशगरी कांग्रेससँगको असन्तुष्टि आफूमाथि पोखेर खुकुरी प्रहार भएको उल्लेख गरे।
यादवले बैठकमा भने, ‘हत्या प्रयास गर्नेले महेन्द्र यादव(मलाई) राम्रोसँग चिनेको पनि थिइन भनेको छ, तर चार,पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा छु भनेका छन्, तर मलाई खुसी लागेको छ आफू काटिएर अरुलाई काटिन दिइन, उसले जे कुरा भनेको छ, यसमा कांग्रेसले मात्रै शासन गरेको छैन मोटामोटी सबै दल सरकारमा छन् तर उसले कांग्रेस मात्रै किन काट्न खोज्यो? यसको गहन छानबिन हुनुपर्छ, जरैसम्म पुगेर अनुसन्धान हुनुपर्छ, जनताको चाहना भन्दा कम भएको छ, प्रतिगामी शक्ति छ जसले नेपालमा प्रजातन्त्र देख्न चाहदैन त्यसको पहिलो टार्गेट कांग्रेस हो।’
नेता यादवले प्रदेश सभापति र मुख्यमन्त्रीले राखेको कुराको सबैको समर्थन गर्दै निर्वाचन प्रणाली बदल्ने प्रस्तावमा असहमति भएको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानी छानी कांग्रेसलाई सजाय दिएको भन्दै गृहमन्त्रीलाई रोक लगाउन सभापति शेरबहादुर देउवासँग उनले माग गरे।