
क्षेत्रपाटी चोकबाट पकनाजोल मार्गतिर कुन्थेङ मार्ग भने गल्ली छ। त्यही गल्लीको अन्तिम घरमा देखिन्छ- सुर मेलोडी रेकर्डिङ स्टुडियो। यही स्टुडियोमा भेटिन्छन्- गायक, संगीतकार तथा संगीत संयोजक सुरेन्द्र श्रेष्ठ।
सुर मेलोडी रेकर्डिङ स्टुडियोमा संगीत संयोजनमा रमाइरहेका भेटिन्छन् ४६ वर्षीय सुरेन्द्र। अनेक वाद्यवादसँग भुल्दै आएका उनी पुराना तथा नयाँ पुस्ताका गायक-गायिकासँग काम गरिसकेका छन्।
पचासको दशकमा क्षेत्रपाटीकै पुरानो आर-आर रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ गर्न सुरेन्द्र पुगिरहन्थे। त्यहाँ गीत गाउन समय लिनुपर्थ्यो। महिनौंपछि पालो आउँथ्यो। उनका अनुसार आर-आर रेकर्डिङ स्टुडियो विस्तारै विस्थापित भएपछि गायक कलाकार पनि क्षेत्रपाटीतिर आउने क्रम पातलिएको थियो।
यही क्रममा क्षेत्रपाटीमा कलाकारहरू फर्काउने माध्यम बन्यो- सुर मेलोडी रेकर्डिङ स्टुडियो। त्यहाँ आउने जाने गर्दागर्दै एकदिन रेकर्डिङ स्टुडियो चलाउँदै आएका म्युजिक एरेन्जर हरिशरणले अन्यत्रै स्टुडियाे खाेली सुर मेलाेडी चाहिं उनलाई जिम्मा लगाइदिए। उनी भन्छन्, ‘स्टुडियो नै चलाउँछु भनेर सोचेको थिइनँ। तर चलाउन लेखेको रहेछ। अहिले यहाँ नआइ चित्तै बुझ्दैन।’
स्टुडियो चलाउनुका साथै एरेन्ज गर्न थालेको पनि १५ वर्ष भइसक्यो सुरेन्द्रले। गीत कम्पोज गर्ने र गाउने गरेको तीस वर्ष भइसक्यो। तर उनी चर्चामा छैनन्। उनलाई धेरै कमले चिन्छन्। यस्तो किन भयो ? उनी मात्र हाँसिदिन्छन्।
अन्तरमुखी स्वभावका सुरेन्द्रले आफ्नाबारे खासै खुलेर बोल्दैनन्। बोल्न आउँदैन भनेर टार्छन्। तर गीतसंगीतमा उनको दख्खल हेर्दा लामो साधना देखिन्छ। त्यो साधना आमाको गर्भमा भूर्णको रूपमा जन्म लिँदैबाट सुरु भयो भन्दा अतियुक्त नहोला। उनको त नसा–नसामा संगीत छ। वाद्यवादनको धुन छ। किनकि उनले बुझेको गीतसंगीत पारिवारिक विरासत हो। उनी चौंथो पुस्ता हो, जसले संगीतलाई पछ्याइरहेकाे छ।
हजुरबादेखि नातिसम्म
थापाथलीमा जन्मिएका सुरेन्द्रले कक्षा चार पढ्दादेखि वाद्यवादन बजाउँथे। सुरेन्द्रलाई गाइड गर्थे उनका बाले। उनका बा बद्रीदास श्रेष्ठ भ्वाइलेन बजाउँथे। उनी रेडियो नेपालमा वाद्यवादनका रूपमा जागिरे थिए। भ्वाइलेन बजाउने बद्रीदास श्रेष्ठ हरेक रातको खाना खाइसकेपछि वाद्यवादनमा रमाउने गरेको सम्झिन्छन् सुरेन्द्र।
भन्छन्, ‘बुवा भ्वाइलेन बजाउनु हुन्थ्यो भने मलाई तबला बजाउन लगाउनु हुन्थ्याे। हरेक दिन राति भजन गाउनुहुन्थ्यो। कहिले रामायणको श्लोक त कहिले गीताको श्लोक त कहिले महाभारतका श्लोकबाट गनुगनाउने गरिन्थ्यो। अझ कृष्ण अष्टमीको दिनमा मेरो घरमा भव्य भजन गाइन्थ्यो।’

रेडियाे नेपालमा गीत रेकर्ड गर्ने क्रममा तारादेवीसँग बद्रीदास श्रेष्ठ।
तर त्यो माहोल, त्यो सिकाइ, सुरेन्द्रको जीवनमा धेरै टिकेन। उनको सिकाइले ब्रेक लिनुको कारण थियो- बा बद्रीदास श्रेष्ठका अवसान। २०४८ सालमा उनका बाले सधैंको लागि ब्रह्मलीन भएपछि उनको घरमा हुने सांगीतिक माहोल पनि सेलाएर गयो। उनी भन्छन्, ‘उहाँले मलाई सिकाउँदा सिकाउँदै जानु भयो। करिब एक साल जस्तो सिक्न पाएँ हुँला। उहाँको देहान्तले संगीत मात्रै नभएर हाम्रो परिवार पनि विक्षप्त भयो। धेरै वर्ष तङ्ग्रिन सकेन।’
सांगीतिक विरासत बोकेको परिवारको मुली मान्छे नरहेपछि घरको ओज पनि सेलाउँदो रहेछ। रेडियो नेपालमा थुप्रै चर्चित गायक संगीतकारको कम्पोजमा उनका बुवाले भ्वाइलेन बजाउने गर्थे। तर परिवार ठूलो हुनाले रेडियो नेपालको कमाइले नपुग्दा उनका बुवा चिन्तैचिन्ता डुबेको बताउँछन् सुरेन्द्र।

भ्वाइलिन बजाउँदै सुरेन्द्रका बुवा बद्रीदास श्रेष्ठ।
हजुरबाले काठमाडौंका विभिन्न दरबारमा पुगेर तिनका सन्ततिलाई संगीत सिकाउने गरेको सुनाउँछन् सुरेन्द्र। उनको जिजुहजुरबा राउन्ने मास्टर पनि गीतसंगीत क्षेत्रमै काम गरेको उनले सुनेका रहेछन्। भन्छन्, ‘जिजुहजुरबा र हजुरबाका फोटो पनि छैन हामीसँग। राणाका दरबारमा बाद्यवादन बजाउनुहुँदोरहेछ। मैले केसम्म सुनेको थिएँ भने- रेडियो नेपालमा हजुरबा शंकरदास श्रेष्ठ वाद्यवादन बजाउने जागिर हुनुहुँदोरहेछ। उहाँको मृत्युपछि रेडियो नेपालमा भ्वाइलेन बजाउने वाद्यवादक खड्किएछ। हजुरबाको विकल्पको रूपमा बा बद्रीदासलाई हजुरबाकै नामको जागिर दिइएको रहेछ।’
भ्वाइलेन पश्चिमा बाजा भएकाले थोरै कमले बजाउँथे। राणा दरबारसम्म पहुँच भएकाले उनका हजुरबाले सिकेको बाजा सुरेन्द्रका बाले पनि सिक्न पाए। भ्वाइलेन बजाउनको इज्जत थियो तर पारिश्रमिकले जीवन निर्वाह गर्न गाह्रो रहेछ।
सुरेन्द्र भन्छन्, ‘बुवा परम्परागत पेशाबाट दिक्दारिनु भएको रहेछ। भनेको जस्तो आर्थिक जुटाउन नसकेपछि गीतसंगीतमा कोही नलाग्नु भनेर उर्दी नै गर्नुभएछ। अनि दाइ र दिदीले गीतसंगीत र वाद्यवादनको पछाडि पर्नु भएन। तर म कान्छो छोरो भएकोले बचपनमा वाद्यवादन बिर्सिन सकिनँ। साथै ती बाजाहरू घरमा भएकाले खेल्ने र बजाउने काम निरन्तर रह्यो। त्यसैले मलाई बाउबाजेकै पछाडि हिँडायो।’
सांगीतिक यात्रा
थापाथलीको सुन्दर घर। बागमतीको किनार। घरबाट कि बागमतीमा पौडी खेल्न पाइन्थ्यो कि घरमा बसेर वाद्यवादनसँग भुल्नुपर्थ्यो। बाहिर घुम्न खासै छुट थिएन। सुरेन्द्र भन्छन्, ‘मेरो चाहिं के थियो भने- बाहिर खेल्न गाह्रो थियो। बाहिर जान नपाएपछि घरमै भएका बाजागाजासँगै खेल्ने अवसर पाएँ।’
बुवाको इच्छाविपरीत पनि उनले घरमै संगीतको ज्ञान पाए। जब उनको बुवा रेडियो नेपालको जागिरबाट घर फर्किन्थे तब सुरेन्द्र गीत गाइरहन्थे। बाजा बजाइरन्थे। तर उनी पुरै गीत गाउन र बजाउन सक्थेनन्।
‘नआउने गीत पनि छैन। पूरा पनि कुनै गीत आउँदैन। यो टुक्रे उस्ताद हुन्छ’, उनका बुवाले भनेको सम्झिए उनले।
रेडियोबाट बज्ने गीतलाई सुरेन्द्र कापीमा टिप्थे। त्यो गीत घोक्न कहिलेकाहीं बागमतीको किनार आउँथे। गीत गाउँदागाउँदै उनी पौडी खेल्थे। बुवाले गीतसंगीतमा नलाग्नु भन्दाभन्दै उनले विश्व निकेतनबाट एसएलसी दिए। पास भए। गीतसंगीत पढ्ने इच्छा हुँदाहुँदै बुवाको वचन राख्न उनले त्रिचन्द्र क्याम्पसबाट आइएस्सी गरे। उनी दिनभरि किताबका कुरा गरे पनि झोलामा होमअर्क भए पनि जब-जब घरभित्र पस्थे अनि वाद्यवादनसँग भुल्थे। दिनभरिको थकान मेटाउने आधार वाद्यवादन हुन्थ्यो उनको।
बुवाको वचन सम्झिँदै सुरेन्द्रले ब्याचलर अफ बिजेनस स्टडिज् इन फाइनान्स सरस्वती मल्टिपल क्याम्पसबाट गरे। र, शंकरदेव क्याम्पसबाट बिजनेसबाटै मास्टर्स गरे। साथै ललितकला कलेजबाट मास्टर अफ फाइन आर्ट पनि गरे। यसरी उनले बुवाको वचन राख्न बिजनेस पढे। परिवार पनि खुसी भए। उनी भन्छन्, ‘बिजनेस पढेको विद्यार्थी संगीतको कुराबाट टाढिन सकिनँ। गीतसंगीतको कुरा नगरी मनै बुझ्थेन।’
बुवाको वचन पूरा गरे पनि सुरेन्द्रले संगीतको आधिकारिक ज्ञान लिन हौसिए। उनका नजिकका मित्रहरूले साथ पनि दिए। उनले एक वर्षे भोकल तालिम पनि लिए। र, संगीत प्रभाकरको कक्षा लिए। यसरी पारिवारिक विरासतबाट सिकेको संगीत र केही कक्षाहरूले उनलाई संगीतमा थप एक ध्यानले लाग्न सजिलो बनाइदियो।

गीत गाउँदै सुरेन्द्र श्रेष्ठ।
उनी भन्छन्, ‘अन्य काम पनि गरें तर संगीतबाट टाढिन सकिनँ। बिस्तारै संगीतलाई आयस्रोतको माध्यम बनाएँ।’
सुरेन्द्रकाे पढाइ राम्रो थियो। लोकसेवा आयोग लडेको भए जागिर पनि खान सक्थे। रेडियो नेपालतिरै पनि उनले कोसिस गरेको भए जागिर पाउँथे तर उनी स्वतन्त्ररूपमा काम गर्न रुचाए। यही क्रममा एक दिन उनका नजिकका मित्रले एक विद्यालयमा संगीत पढाउने शिक्षक चाहिएको खबर सुनाए। उनले स्कुलको ठेगाना लिएर गए। कुराकानी गरे। पढाउने कुरा ओके भयो। यसरी सुरेन्द्रले कान्जिरोवा बालकुमारी कोटेश्वरमा पढाउन थाले। बिस्तारै संगीतको समूह पनि बनाउन थाले। साथै निरन्तर अभ्यास पनि गर्थे।
२०५४ सालमा विद्यालयमा संगीत सिकाउने जागिर सुरु गरेका सुरेन्द्रले २८ वर्ष शिक्षक भएर संगीत पढाए। बागबजारको नेपाल संगीत कला केन्द्रमा पनि उनले पढाए। उनी भन्छन्, ‘आइएस्सी पढ्दैदेखि संगीत पढाउन थालेको थिएँ। हप्ताको तीन दिन पढाउनु पर्थ्यो। महिनाको १५ सय तलब आउँथ्यो। म खुसी थिएँ।’
बिजेनस पढ्दै संगीत पढाउँदै गरेका सुरेन्द्रले सांगीतिक समूह बनाए अनि गीत कम्पोज गर्नुका साथै गाउने पनि गर्न थाले। पहिलोपटक उनले २०५२ सालमा पहिलो गीत कम्पोज गरे, जसलाई गायक रवि सुवेदीले गाए।
‘तिम्रो पायलको झन्कार’ बोलको गीतले सुरेन्द्रलाई कम्पोजरको रूपमा स्थापित गरिदियो। त्यसपछि उनले ‘चाहनाहरू’ नामको एलबम निकाले। जसमा तीन वटा गीत उनले कम्पोज गरेका थिए भने एउटा गीतमा उनले स्वर पनि दिएका थिए । उनले रेडियो नेपालमा पनि गीत गाए । गीत गाएबापत २ सय पारिश्रमिक पाएका थिए । त्यो अवसर वरिष्ठ गायक चन्द्रराज शर्माले जुराइदिएका रहेछन् ।
पारिवारिक विरासतले दिएको अवसर
भनिन्छ आफूसँग क्षमता छ भने अवसरहरू प्रशस्त पाइन्छ। जसकाे विकास सुरेन्द्रले आफ्नै बुवाको सहयोगले पाएका थिए। स्कुल पढाउने दिनहरूमै उनले दुईवटा बाल गीतका एल्बम पनि निकाले थिए। जुन हाम्रो साथी (२०६०), सानी पुतली (२०५८) नामका एल्बमले उनलाई बालबालिकाप्रति अझै चिनायो।
अहिलेसम्म तीन सयजति संगीत दिएका सुरेन्द्रले बालगीत, सुगमसंगीत, गजल र नेपाल भाषाका नेवारी गीत पनि निकालेका छन्। नयाँ पूराना सबै गायक कलाकारसँग उनले काम गरेका छन्। अन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, मिलन अमात्य, सपना श्री, प्रकाश श्रेष्ठ, सुदेश शर्मालगायत गायकसँग उनले काम गरिसकेका छन्।
जमलको सांस्कृतिक संस्थानमा संगीत सिक्नका लागि सुरेन्द्रले जब फारम भरेका थिए- अन्तरवार्ता दिन जाँदा प्रेमध्वज प्रधान, चन्द्रराज शर्मा, कमल क्षेत्रले अन्तरवार्ता दिएका थिए। उनी पास भए। कमल क्षेत्रीसँग संगीत सिके। पढेको बिजनेस बिर्सिँदै गए।
उमेरको बीसको दशकमा बुवाले भनेको वचन सम्झिएर पलायन हुन नखोजेको होइनन् सुरेन्द्रले। तर बिजनेस पढेका उनले संगीत पेशालाई नै बिजनेस बनाउने सोचेपछि पलायन भएनन्।
‘महत्त्वाकांक्षा बढी भयो भने मात्रै मान्छे छट्पटिने हो। अवसर खोज्दै भौँतारिने हो। म यहाँ खुसी छु भने कतै जान पर्दैन जस्तो लाग्छ’, उनी भन्छन्, ‘मन वचनका साथ लाग्यो भने संगीतमा पनि सफल भइएला भन्ने लागेर छोड्न सकिनँ। अहिले यही जीवन बनेको छ। कर्मप्रिय बनेको छ। जीवन चलेको छ। अब त मेरो लागि संगीत नै जमिन भयो। मेरो धरातल संगीत भयो।’
सुरेन्द्र खुसी छन्। नेपालका चर्चित गायक कलाकार उनका सुरु मेलोडीमा पुग्छन्। पछिल्लो एक दशकयता वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ नियमित पुग्छन्। गीत रेकर्ड गर्छन्। उनका अनुसार गायक सुरेन्द्र मिलनसार र मेहनती छन्। श्रेष्ठ भन्छन्, ‘सुरेन्द्र भाइ काम गर्न सहज हुनुहुन्छ। सरल हुनुहुन्छ। एकदम कम बोल्ने तर धेरै काममा रमाउने मान्छे हुनुहुन्छ।’
मदनकृष्ण श्रेष्ठका साथै उनकी छोरी सारा श्रेष्ठले पनि गीत रेकर्ड गरेका छन्। त्यसैगरी गायक योगेश वैद्य सुरेन्द्रसँग काम गर्न निकै रुचाउँछन्। किन ? उनी भन्छन्, ‘सुरेन्द्रसँग संगीतको प्राविधिक ज्ञान छ। उहाँ शास्त्रीय संगीत मात्रै जानेकाे नभइ वाद्यवादनको पनि ज्ञान भएको कलाकार हुनुहुन्छ।’
सुर मेलोडीमा थुप्रै गीत रेकर्ड गरेको योगेशका अनुसार सुरेन्द्र कम्पोजर, एरेन्जर र गायक मात्रै होइनन्, वाद्यवादनमा पनि परिपक्क छन्। उनी भन्छन्, ‘सुरेन्द्रले जति पारिवारिक विरासतबाट संगीत पायो त्योभन्दा चौगुना उहाँले मेहनत गर्नुभएको छ। मेहनतकै कारण उहाँको काम रुचाइएको हो।’

राष्ट्रकवि माघवप्रसाद घिमिरे र गीतकार कालीप्रसाद रिजालकाे साथमा सुरेन्द्र।
रामेश श्रेष्ठ पनि सुरेन्द्रसँग काम गर्न रुचाउँछन्। सबै जनराका गीतसंगीत र प्राविधिक ज्ञान भएकाले काम गर्न सजिलो भएको बताउँछन् उनी। भ्वाइलेन, हारमोनियम, तबला, गिटार, किबोर्डलगायतका बाजा सजिलै बजाउँछन् सुरेन्द्र। पछिल्लो समय संगीत संयोजनमा कपीपेस्ट चलेको कुरा नकार्न सक्दैनन् उनी। तर उनी खुसी केमा छन् भने सफ्टवेयरको सहयोगले सबैले रोजगार पाएका छन्। धेरै कुरा सिक्न पाएका छन्। भन्छन्, ‘नयाँ नयाँ टुल्सको विकास भएको छ। त्यसलाई क्रियटिभ ढंगले प्रयोग गर्न सके संगीत संयोजनमा केही नयाँ गर्न सकिन्छ।’
पछिल्लो समय फोक म्युजिकको पनि चर्चा छ। सुरेन्द्रले थुपै गीतको कभर गाएका छन्। यसले पनि संगीत संयोजनमा नयाँ दिशा लैजाने बताउँछन् उनी। कम्पोजिसन भन्दा पनि संगीत संयोजन गर्न गाह्रो हुने बताउँछन् उनी। एक एक पिसको महत्त्वपूर्ण हुने भएकाले त्यस्तो गरेको बताउँछन्।
उनी भन्छन्, ‘संगीत भनेको सामूहिक काम हो। सबैले हातमालो गर्यो भने राम्रो प्रडक्ट आउन सक्छ। जति मान्छे भयो त्यति माझिने हो। तर अहिले एकजनाले नै सबैथोक गर्न लागेका कारण गीत कालजयी हुन सकेका छैनन्।’
जब जब भ्वाइलेन बजाउँछन् तब सुरेन्द्र बुवा सम्झिन्छन्। उनका बुवासँग काम गरेका दिपम जंगमलगायत अहिले पनि छन्। उनीहरूसँग आफ्नो बुवाका बारेमा सोधीखोजी गरिरहन्छन् उनी। भन्छन्, ‘धेरै कुराहरू छैनन् बुवाका यहाँसम्मकी फोटो पनि। तर उहाँलाई चिन्नेहरूले भनेको सुन्दा भ्वाइलेन नेपालमा स्थापित भएको मेरा अग्रजको भूमिका छ झैं लाग्छ।’
सुरेन्द्र बुवाको बारेमा खोजअनुसन्धान गरिरहेका छन्। तर रेडियो नेपालमा पनि रेकर्ड नभएको देखेर दुःखी छन्। भन्छन्, ‘त्यत्रो सरकारी संस्थामा एक वाद्यवादनको रेकर्ड छैन। कति दुःखद कुरा।’
केही वर्षअघि एक जना संगीतकारले नयाँ पुराना वाद्यवादनको फोटोसहित किताब निकालेका रहेछन्। तर उनको बुवा कतै रहेनछन्। उनलाई साह्रै दुःख लागेको रहेछ। खोज्दिनेले पनि गम्भीर भइदिनु पर्थ्याेजस्तो लाग्छ उनलाई।
‘मेरो बुवाले रेडियोमा र विविध सांस्कृतिक कार्यक्रम हुँदा भ्वाइलेन बजाउँदा फोटोहरू हुनुपर्थ्याे। छैन’, उनले भने।
जीवनमा कुनै पनि सन्तानले आर्थिक संकट झेल्न नपरोस् भनेर सुरेन्द्रका बुवाले फरक पेशामा लाग्न अनुरोध गरे। उनले यसै पेशामा लागेर राम्रै कमाएका छन्। बुवाको समयमा गीतसंगीतमा लागेर प्रशस्त आम्दानी हुन्थेन। इज्जत पनि थिएन। तर अहिले गीतसंगीतमा लाग्नेहरू प्रशस्त कमाउने भएका छन्। जीवनशैली राम्रो हुने भएको छ। गीतसंगीतको प्लेटफर्महरू प्रशस्त छन्। बुवाले जसरी आर्थिक संकट झेल्नु पर्दैन भन्ने लाग्छ उनलाई।
‘आजको समयमा गीतसंगीत बुझेको, प्राविधिक ज्ञान भएको मानिसले भोको मर्नु पर्दैन भन्ने लागेर हो कि मेरी ६ वर्षीय छोरीले गीत गाइन्, वाद्यवादन र गायनमा खुबै रुचि देखाउँछिन्’, सुरेन्द्रले यति भनेर पज लिए अनि बिस्तारै भने, ‘ पारिवारिक विरासतले मात्रै कुनै सन्तान माथि उठ्न सक्दैन। त्यसको लागि समयअनुकूल संघर्ष त गर्नै पर्छ। विरासतकाे घमण्ड गरेर मात्र हुँदैन।’