
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हटाउनु पर्ने मागका विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ।
सोमबार एन्फाकम्पलेक्स सातदोबाटोमा बसेको आकस्मिक कार्यसमितिको बैठकले फुटबल संघको ४० प्रतिशत सदस्यले अध्यक्ष पंकज विक्रम नेम्वाङको बर्खास्ती माग गर्दे बुझाएको निवेदनलाई निर्णायार्थ प्रस्तुत गर्ने भएको हो। जसका लागि आगामी कार्तिक २३ गते हेटौंडामा विशेष साधारण सभा बोलाउने निर्णय एन्फाले लिएको छ। तर महासचिव किरण राईको बर्खास्तीको प्रस्तावमा भने विधान उल्लंघन हुने भन्दै विशेष साधारण सभामा प्रस्तुत नगर्ने निर्णय एन्फाले लिएको छ।
‘अखिल नेपाल फुटबल संघको ४० प्रतिशत सदस्यले २५ भदौमा संघमा दर्ता गराएको संघको अध्यक्ष र महासचिवको बर्खास्तको प्रस्ताव उपर छलफल गर्दा सदस्य संस्थाहरुको माग बमोजिम मिति २०८० कार्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा आयोजना गरी एक मात्र विषय सूची अध्यक्ष पंकज विक्रम नेम्वाङको बर्खास्ती सम्बन्धमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ।’ निर्णयमा भनिएको छ।
त्यस्तै महासचिव किरण राईको बर्खास्तीको प्रस्तावको मागको सम्बन्धमा बैठकले भनेको छ ‘एन्फाको विधान अनुरुप महासचिवको नियुक्ती र बर्खास्तीको सम्बन्धमा अध्यक्षको प्रस्ताबमा मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार क्षेत्र भित्र पर्ने भएको हुदाँ महासचिवको बर्खास्तको प्रस्ताव पेश हुदाँ संघको विधानको उल्लंङ्घन हुने भएकोले उक्त प्रस्तावलाई विशेष साधारण सभामा प्रस्तुत नगर्ने निर्णय भएको छ।’
त्यस्तै फिफा वर्ल्ड कप छनोट चरण तयारीका लागि संघका उपाध्यक्ष श्री दिपक खतिवडालाई संयोजनको जिम्मेवारी दिने अर्को निर्णय गरेको छ। त्यस्तै प्रतियोगिताको टिकेटिङ संघले नै गर्ने, टिकट दर सामान्य पारापिटतर्फ रु ३०० र भीआइपी पारापिटतर्फ रु ५०० कायम गर्ने र टिकट व्यवस्थापन गर्नका लागि एन्फा केन्द्रिय सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय एन्फाले गरेको छ।