
सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाबाट गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा महिलाको क्यान्सरको पाठेघरको चेकजाँच र गर्भवती ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ।
स्वास्थ्य संस्थामा गर्भवती महिलामा यो समस्या देखिएको गुनासो आएपछि दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार सेवा गरिएको हो।
स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले २१ जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउन्ड गरिएको बताइन्। यो अल्ट्रा साउण्ड गर्ने कार्य स्वास्थ्य चौकी ठेहेमा १५ जना सामुदायिक स्वास्थ्य इकाई कुम्लीमा तीन जना र दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तीन जनाको गरिएको हो।
त्यसैगरी, चार वटा स्वास्थ्य संस्थामा ८० जना ४० वर्षमाथि र साठी वर्षमुनिका अन्य महिलाको पाठेघरको क्यान्सर चेकजाँच गरिएको उनले बताइन्।
यसरी पाठेघरको क्यान्सरको चेकजाँच गरिएकी महिलामा बरगाउँ स्वास्थ्य चौकीमा ४१ जना, ठेहे स्वास्थ्य चौकीमा आठ जना, दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १८ जना र सामुदायिक स्वास्थ्य इकाइ कुम्लिकमा १३ जना महिलाको चेकजाँच गरिएको हो। चेकजाँच गरिएकी महिलामा पाठेघरको अवस्था भने सामान्य रहेको उनले बताइन।्