के क्यान आफैंले स्रोत परिचालन गर्न सक्दैन?

के क्यान आफैंले स्रोत परिचालन गर्न सक्दैन?
+
-

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले भनिरहने वाक्य हो- सरकारले नेपाली क्रिकेटमा लगानी गर्दिनुपर्‍यो। नेपाली क्रिकेटमा सरकारले लगानी गर्नुपर्छ, यसमा दुई मत कसैको नरहला। पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको छ।

सरकारले केही गरेन भनेर क्यान चुप बस्न मिल्छ? पक्कै पनि मिल्दैन। क्यानले आफैं स्रोत पहिचान गर्न सक्नुपर्छ, गर्नुपर्छ। खेलाडीलाई आफ्नो जीवन चलाउन, परिवारको जिम्मेवारी निभाउन नियमित पैसाको आवश्यकता पर्छ।

क्यानले दिएको तलब मात्रैले अहिलेको अवस्थामा खेलाडीलाई आफ्नो जीवनयापनका लागि पर्याप्त हुँदैन। त्यसैले खेलाडीलाई थप आयस्रोतको व्यवस्थापनका लागि क्यानले विकल्प खोज्नुपर्छ।

विकल्प तयार हुनुअघि कम्तिमा अहिले तत्काललाई खेलाडीको तलबमा वृद्धि गराउनु पर्छ। कम्तीमा क्यानको वर्गीकरणमा रहेका खेलाडीहरूमध्ये कम रहेको ‘सी’ क्याटेगाेरीमा भएका खेलाडीले मासिक ८०, ०००, ‘बी’ क्याटेगाेरीमा रहेका खेलाडी ले ९५,००० र ‘ए’ क्याटेगाेरीमा रहेको ले १,१०, ००० मासिक रूपमा दिनसक्ने अवस्था तत्काल तयार गर्नुपर्छ क्यानले।

क्यानले सिनियर टिमका पुरुष खेलाडीसँगै महिला खेलाडीलाई पनि सँगै लिएर हिँड्नुपर्छ। त्यसका लागि महिला खेलाडीलाई पनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गरिनु पर्छ। यसबाहेक अहिले टिममा रहेका हरेक खेलाडीलाई कर्पोरेट सेक्टरबाट प्रायोजनको व्यवस्था गरिनु पर्छ।

धेरै कम्पनीले नेपालको म्याच हुँदा चौका, छक्का, विकेटमा लाखौं रकम प्रस्ताव गर्ने गरेका छन्। यदि उनीहरूलाई खेलाडी प्रायोजनाको प्रस्ताव गर्ने हो भने उनीहरू स्वाभाविक रूपमा तयार हुन्छन्।

कम्तीमा एक खेलाडीलाई वार्षिक रूपमा थोरैमा ५ लाख रुपैयाँ र त्योभन्दा बढी प्रायोजन गर्ने सक्यो भने खेलाडीलाई क्रिकेटमा नै भविष्य रहेको आभाष हुन्छ। उनीहरूले क्रिकेटबाहेक आफ्नो भविष्यका लागि दिमाग अन्यत्र दौडाउनु पर्दैन।

खेलाडीलाई आर्थिक रूपमा सुरक्षित बनाएपछि हामीले अर्को गर्नुपर्ने महत्त्वपूर्ण कार्य भनेको व्यवस्थित घरेलु लिग हो। जसले खेलाडीको आम्दानीसँगै क्रिकेट कल्चरलाई नयाँ रूपमा स्थापित गर्छ। आधुनिक क्रिकेटको मेरुदण्ड नै लिग हो। लिगलाई प्रभावकारी बनाउन सके राष्ट्रिय टिम स्वाभाविक रूपमा बलियो हुन्छ नै।

क्लब क्रिकेट बलियो बनाउन सकेमा स्वाभाविक रूपमा समर्थकहरू आफ्नो क्लबका लागि जस्तोसुकै त्याग गर्न तयार हुन्छन्। जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो र सबल हुँदै जान्छ। जुन नेपाली क्रिकेटसँग सबैभन्दा ठूलो सम्भावना भएको सेक्टर हो। क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन्।

क्लबले समर्थक बढाउन तबमात्र सम्भव छ, जब लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन्। काठमाडौं बाहिर पोखरा, धनगढी लगायत स्थानमा लिग खेलाउन सकिन्छ। यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर देशभरि नै क्रिकेट कल्चर बढाउन सकेमा टिकटबाट प्रशस्त आम्दानी गर्न सकिन्छ।

जसले टिकट र प्रायोजनको ठूलो अवसर क्लबलाई दिलाउने छ, जहाँबाट क्लबहरूले प्रमुख आम्दानी गर्न सक्ने छन्। यसले नेपाली क्रिकेटलाई व्यावसायिक तहमा फड्को मार्न ठूलो सहयोग गर्ने छ। नेपाली क्रिकेटको व्यावसायिकताका लागि आधारस्तम्भ सावित हुन सक्ने छ। नेपाली क्रिकेटको लागि घरेलु संरचना परिवर्तन गर्ने समय सुरु भइसकेको छ।

यस्तो अभ्यास अहिले विश्वभर नै भइरहेको छ। अफगानिस्तान क्रिकेटमा नयाँ क्षमतावान् खेलाडी आउनुको मुख्य कारण त्यहाँको घरेलु संरचना पनि हो। ओमान क्रिकेटले पनि घरेलु संरचनालाई बलियो बनाउँदै छ। एकै पटक तीनै फर्म्याटमा घरेलु लिग गर्न सक्ने हैसियत बनाएको छ। लिग टी-२० कप, वन डे कप, फर्स्ट क्लास क्रिकेट कप उसले सञ्चालन गर्न सक्छ।

अब नेपालमा पनि ७ प्रदेशको नाम वा प्रदेशभित्र रहेका मुख्य सहर वा क्षेत्र भूभागलाई समेटेर ७ वटा क्लब स्थापना गरेर क्लब कर्पोरेट हाउसलाई सञ्चालन गर्ने वा व्यक्तिले खरिद गर्ने ‘अक्सन’ गरेर बेच्न कुनै एक विकल्पसहित जानुपर्छ।

क्लबको स्वामित्व खरिदकर्तालाई दिइ लिगको म्याद कम्तीमा १० वर्ष रहने गरी दिनुपर्छ। लिग टी-२० पहिलो वर्ष एक महिना लामो, वन डे कप दुई महिना लामो, फर्स्ट क्लास क्रिकेट दुई महिना गरी हाम्रो घरेलु लिग ५ महिना लामो गर्ने वातावरण क्यानले गर्नुपर्छ। घरेलु लिग खेलेर सिजनमा राम्रो आम्दादी गर्ने आधार तय गरौं।

पहिलो वर्ष सबै खेल त्रिवि र मूलपानीमा सम्भव नभए पोखरा र धनगढीमा गर्न सकिन्छ। पोखरा र धनगढी मैदान राम्रो बनाएर लिग गर्नुपर्छ। लिग सञ्चालन गर्ने पैसा टिकटमार्फत, स्पोन्सर र नयाँ विधि अपनाउन सकिन्छ। या त टिकटको स्थानमा फन्ड स्थापना गरौं। जति सकिन्छ पहिलो वर्ष त्यो फन्डमा सहयोग गर्न आह्वान गरौं। साथै राज्यसँगै सहयोग रकम माग्न सकिन्छ।

लिगबाट छानिएर आएका उत्कृष्ट खेलाडीलाई नेपाल ‘ए’ टिम बनाएर भारत र पाकिस्तानका ‘ए’ लिग खेल्ने टिमसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण क्यानले बनाउनु पर्छ। अब काम गर्ने समय आएको छ। नेपाली क्रिकेटका लागि सुरुवात गर्ने समय यही नै हो। अब हामीले सिरिज भारत ‘ए’, पाकिस्तान ‘ए’ टिम सँग खेल्ने वातावरण आफैं तयार गर्नुपर्छ।

अन्त्यमा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले जग्गा उपलब्ध गराए स्टेडियम महानगरले बनाउने घोषणा गरेका छन्। महानगरसँग बजेटको समस्या छैन। स्टेडियम बनेपछि अहिलेको लगानी महानगरलाई दीर्घकालीन आयस्रोत बन्न सक्छ। त्यसैले क्यानले महानगर र सरकारको पुलका रूपमा काम गर्नुपर्छ।

मेयर बालेनलाई सके नयाँ ठाउँ नै उपलब्ध गराऊँ, यदि सकिँदैन भने पुरानो कुनै एक मैदानलाई स्तरोन्नतिका लागि दिन सकिन्छ। मूलपानी र त्रिवि क्रिकेट मैदानलाई ३० देखि ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा परिणत गर्ने जिम्मा दिऔं।

दुईमध्ये एकलाई स्वरूप बदलेर बनाउँदा महानगर र क्यान दुवैलाई फाइदा पुग्नेछ भने दर्शक वर्षामा छातामुनि बसरे आफ्नो देशको खेलको प्रतीक्षा गर्नु पर्ने दिनको अन्त समेत हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?