
लन्डन-बेलायतको लिभरपुल शहरमा बहुतले पार्किङमा लागेको आगोले कम्तीमा १४ सय गाडी खरानी बनेका छन्।
उक्त आगलागीमा मान्छे भने नमरेको बताइएको छ । लिभरपुल इन्टरन्याशनल हर्स शोमा प्रदर्शनका लागि त्यहाँ घोडा पनि राखिएका थिए।
आगलागीसँगै ती घोडाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो भने हर्स शो पनि स्थगित गरिएको थियो ।
सोमवार अबेर आगलागी नियन्त्रणमा लिइएको थियो । पार्किङको सातौं तलास्थित ग्यारेजबाट आगलागी भएको थियो। गाडी जलेर घर जान नसकेका व्यक्तिलाई आकस्मिक आश्रय दिइएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार आगो लाग्न शुरु भएपछि प्रति दुई सेकेन्डमा गाडी विस्फोट भएका आवाज आएका थिए ।
प्रत्यक्षदर्शीले पार्किङमा राखिएको थोत्रो ल्यान्ड रोभर गाडीको इन्जिनबाट आगलागी शुरु भएको बताएका छन्।
आइतबार अबेर लागेको आगो सोमबार मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट निस्किएको धुँवाका कारण पार्किङका वरपरका घर खाली गराइएका थिए ।