
अर्जेन्टीनाको संसदले गर्भपतनलाई कानूनी मान्यता दिने गरेर ल्याइएको विधेयकलाई खारेज गरेको छ ।
यो विधेयकमा १४ हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिने कुरा उल्लेख थियो । संसदमा भएको लामो बहसपछि ३८ जना सांसदले यसको विपक्षमा र ३१ जना सांसदले पक्षमा मत दिएका थिए ।
यो विधेयक खारेज भएसँगै यसको विरोध गरिरहेकाहरुमा खुशीयाली छाएको छ भने समर्थकहरुमा निराशा छाएको छ । रिसाएका कतिपय समथर्कहरुले प्रहरीमाथि हमला गरेका छन् भने विभिन्न ठाउँमा आगजनीको प्रयास भएको छ ।
यसपटक विधेयक खारेज भएसँगै अब अर्काे वर्ष मात्रै संसदमा फेरि यो प्रस्ताव पेश गर्न पाउने नियम छ ।
यो विधेयकको समर्थनमा रहेकाहरुले अर्जेन्टीनामा गर्भपतनले कानूनी मान्यता नपाएका कारण कतिपय महिलाहरुले ज्यान गुमाउनु परिरहेको बताउँदै आएका छन् ।
यो विधेयकको विरोधमा रहेकाहरुले जन्मन नपाँउदै बच्चाको ज्यान लिने अधिकार कसैसँग नरहेको र महिलाको समस्याको समाधान गर्भपतन नभएको बताउँदै आएका छन् ।
विधेयकको पक्ष विपक्षमा मतदान चलिरहँदा संसदको बाहिर दुबै पक्षले प्रदर्शन गरेका थिए ।
अर्जेन्टीनामा बलात्कारको शिकार भएकी महिला या आमाको ज्यान खतरामा रहेका बेला मात्रै गर्भपतनको अनुमती पाउने कानून छ ।