
काठमाडौं- काठमाडौंको गोकर्णेश्वर-३ जगडोलमा लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको स्थानबाट प्रहरीले ७ राउण्ड गोलीसहित १ नाल पेस्तोल बरामद गरेको छ।
३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा प्रहरी टोलीद्वारा जवाफी कारवाही गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले बताएका छन्।
उनका अनुसार जवाफी कारवाहीमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलानको दाहिने घुँडामुनी-१ र तिघ्रामा-१ गरी २ गोली लागेको छ। घाइतेको नेशनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेका सर्लाही घर भएका वर्ष ३६ को सन्त लामा र सिन्धुपाल्चोक घर भएका वर्ष ३० को जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलबाट फरार रहेका अन्यको प्रहरीले खोज तलास गर्नुका साथै थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।