कोशीको भूकम्पले हल्लाइदिएको केन्द्रीय सत्ता

कोशीको भूकम्पले हल्लाइदिएको केन्द्रीय सत्ता
+
-

काठमाडौँ- कोशी प्रदेशमा शेखर कोइराला समूहका केदार कार्की एमालेसँग मिलेर मुख्यमन्त्री निर्वाचित भएसँगै देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा विभाजनको झड्का लागेको छ। यसले राष्ट्रिय राजनीतिलाई नै हल्लाइदिएको छ। कोइराला समूहसँग एमालेको निकटताले केन्द्रको सत्ता समीकरण पनि धर्मराएको छ।

कोशी प्रदेशमा एमालेको बलमा मुख्यमन्त्रीको कमान सम्हालेको कांग्रेसको शेखर कोइराला समूह अब केन्द्रमा पनि सम्भावनाहरुको खोजी गर्दै छ। शेखर समूहका एक वरिष्ठ नेताले यसको पुष्टि गर्दै थपे- प्रचण्ड सरकार लामो समय जाँदैन। कांग्रेस एमालेसँग मिलेर सरकार बनाउँदा पनि हुन्छ भन्ने मलाई लाग्छ, कांग्रेस माओवादीसँग मिल्न हुने एमालेसँग मिल्न किन नहुने?’

नेपाली कांग्रेसभित्रको गुटगत विभाजनलाई कोशी प्रदेश सरकार प्रकरणले औपचारिकताको लेबल लगाइदिएको छ भने पार्टीको भविष्यबारे नै संशय पैदा भएको छ।

संस्थापन समूह र इतर समूहका गतिविधि नियाल्दा दुईवटा पार्टीको झल्को देखिने कांग्रेसमा डा. शेखर समूहले अहिले एमालेसँग मिलेर मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेपछि पार्टी विभाजन भएसरह वा कांग्रेसको शेखर समूह एमालेमा प्रवेश गरेजस्तो दृष्य देखिएको छ।

कोशी प्रदेशमा कांग्रेसको डा.शेखर कोइराला समूहले एमालेसँग मिल्नुअघि शीर्ष तहमा धेरै पटक वार्ता गरेको थियो। शुक्रबार बेलुकासम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय भएकाले बिहीबार र शुक्रबार यी दुई समूहबीच शीर्ष तहमा चरण चरणमा छलफल भएका थिए।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख परशुराम खापुङ। तस्बिर: अभयकुमार राई/देश सञ्चार

शेखर समूहको प्रतिनिधित्व गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तारन्तार छलफलमा सहभागी हुने नेतामा डा.सुनील शर्मा पनि पर्छन्। शर्मा मोरङ- ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनी डा. कोइरालाका विश्वासपात्रमध्ये एक हुन्। संविधानको धारा १ सय ६८ को उपधारा ५ अनुसार कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिको लागि रस्साकस्सी चल्दै गर्दा शेखर समूहका नेता र ओलीबीच छलफल बाक्लिएको थियो।

गत विहीबार दिउँसो एक बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सदनमा हाजिर लगाएर डा. सुनील शर्मा ओली निवास बालकोट हुँइकिएका थिए। दिउँसो करिब साढे एक बजेतिर ओलीलाई भेटेका उनले आधा घन्टा कोशी प्रदेश मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा एक्लाएक्लै वार्ता गरे र त्यसपछि पुन: संसद भवन फर्किएर डा. शेखर कोइरालालाई आफ्नै गाडीमा लिएर ओलीलाई भेटाउन लगे।

कोइराला र ओलीबीच छलफल हुँदा सुनील शर्मा पनि सहभागी थिए। ओली र कोइरालाको सहमतिपछि ओलीले त्यहीँबाट नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई टेलिफोन गरेर जानकारी गराएका थिए।

यता शेखर कोइराला र सुनील शर्माले पनि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीको लागि तयारी थाल्न भनेका थिए। मुख्यमन्त्रीको छलफलकै लागि काठमाडौँ आएका केदार कार्की सोही दिन बेलुका ४ बजेपछि विराटनगर फर्किएका थिए। विराटनगर पुगेर एमाले र कांग्रेस शेखर समूहका नेताहरुको हस्ताक्षर संकलन थालेका थिए।

शर्मा तिनै नेता हुन् जसले वर्तमान सरकारमा आफ्नै दल (कांग्रेसबाटै सहभागी) मन्त्रीहरुको पहिलोपटक सदन र सार्वजनिक फोरमहरुमा खरो आलोचना गरेका थिए। उनलाई केही समयअघि शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्रिएको थियो भने जिल्ला अदालत काठमाडौंले थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको थियो।

शर्माले माओवादीसँग पुनर्विचार गरेर मात्रै गठबन्धन गर्न आफ्नै दलका शीर्ष नेतालाई बेला बेला खबरदारी गर्दै आएका छन् भने अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड सरकारको दिनगन्ती सुरु भएको ठोकुवा गर्छन्। कांग्रेस नेता शर्माले सात राजनीतिक दल र माओवादीबीच माओवादी शान्ति प्रक्रियामा आएपछि दिल्लीमा भएको १२ बुँदे सहमतिमा कृष्णसेन इच्छुकको अगुवाइमा प्रचण्ड र गिरिजाप्रसाद कोइरालाई भेटाउने जिम्मेवारी बहन गरेका थिए।

दिल्लीमा रहेका प्रचण्डसँग भेटघाटको लागि गिरिजा चाइना, बेइजिङ, हङकङ हुँदै दिल्ली पुग्दाका सम्पर्कसूत्र पनि पनि थिए शर्मा।

उनी कोशी प्रदेशमा यो परिस्थति आउँछ भन्ने पहिलेदेखि नै लागेको बताउँछन्। नेता शर्माले देश सञ्चारसँग भने, ‘संविधानको धारा १६८ (५) आएपछि हामीले एक्सरसाइज गर्‍यौँ, शेखर दाइले मलाई ओलीसँग भेट्न पठाउनुभयो, म पहिला गएँ, ओलीसँग छलफल गरेँ, उहाँले हामीलाई समर्थन गरिदिने हुनुभयो, अनि यसरी कोशी प्रदेशमा यो अलायन्स फाइनल भएको हो।’

सुरुका दुई बर्ष कांग्रेस र त्यसपछिको अवधि एमालेले कोशी प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ।

उनले थपे-  गठबन्धन निरन्तर रुपमा जान्छ। त्यहाँ कुनै षड्यन्त्र हुँदैन। गठबन्धनमाथि कसैले षड्यन्त्र गर्न खोजेमा हामी त्यसलाई विश्वास गर्दैनौँ।’

शेखर समूहका एक नेताले देश सञ्चारसँग भने, ‘हिजोका दिनमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग काम गर्दा ४० प्रतिशत भागबन्डा लिन्थे, हामीले प्रतिशत खोजेको होइन, सम्मानजक उपस्थिति खोजेको हो, प्रजातान्त्रिक पार्टीको रुपमा चलाउन पर्‍यो, पेलेर जान्छु, कोइरालाहरुलाई सक्छु भन्नतिर देउवा लाग्नुभयो भने सातै प्रदेशमा ढाल्दिन सक्छौँ। केन्द्रीय सरकारमा पनि प्रचण्ड सरकारको दिनगन्ती सुरु हुन्छ। संविधानको धारालाई प्रयोग गरेर मुख्यमन्त्री बनेको कारण देउवाले केही गर्न सक्नुहुन्न।’

ती नेताले थपे, ‘कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुको पनि विकल्प थिएन। हामीले अविश्वासको प्रस्ताव दर्ता गर्दै थियौँ, त्यो कुरा उहाँलाई थाहा भएर राजीनामा दिनुभएको हो। हामीले मुख्यमन्त्रीमा समर्थन गर्दा ८ जना देखिए पनि कोशी प्रदेशमा हाम्रो समूहका १७ देखि १९ जना छौँ।’ कांग्रेस शेखर समूहका ८ सांसदलाई एमालेका ३९ जनाले साथ दिएका हुन् जसको बलमा केदार कार्कीले कोशी प्रदेशको कमानको जिम्मेवारी पाएका छन्।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० जना, राप्रपाका ६, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक गरी सांसद छन्।  उद्धव थापाले कांग्रेसको प्रदेश सभापतिबाट पनि राजीनामा दिनुपर्ने पक्षमा शेखर समूह छ। संसदीय दलको नेता को बन्ने भन्ने छलफलमै रहेको शेखर पक्षका नेताहरु बताउँछन्।

एक नेताले देश सञ्चारसँग भने, ‘शेखर समूहको लडाइँ भनेको कांग्रेस माओवादीमा समाहित हुनु भएन भनेर हो, केन्द्रमा प्रधानमन्त्री देखि प्रदेशमा कांग्रेसले पाएको भाग समेत माओवादीलाई सुम्पिएकोप्रति शेखर समूह आक्रोशित छ।’

ती नेताले थपे- ‘कांग्रेस बचाउने अभियानमा एमाले, राप्रपा वा जुनसुकै दलले साथ दिए पनि हामीलाई स्वीकार्य छ। देउवा कांग्रेसलाई सकाउन लागिपरेका छन्। कोशीमा जुन अलायन्सको सरकार बन्यो यो कांग्रेस सुधार्न हो, कोशीमा निरन्तर सरकार चल्छ मध्यावधि चुनावमा जाँदैन,ओलीसँग भएको सहमति हामीले पनि अक्षरश: पालना गछौँ, कार्कीले विश्वासको मत चाँडै पाउनुहुन्छ। राप्रपाका साथीहरुले पनि मत दिन्छन् भन्ने विश्वास छ।’

शेखर समूहको उक्त गतिविधिबाट आत्तिएर सत्ताघटक दुई प्रमुख पात्र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले डा. शेखर कोइरालासँग सत्ता गठबन्धनमा बेइमानी नगर्न सहमति गरेका छन्। सत्ता गठबन्धनलाई कुनै पनि हालतमा कमजोर पार्न नदिने लिखित सहमति गर्नुले पनि देउवा र प्रचण्ड डा. शेखरसँग झस्किएका प्रष्ट हुन्छ। त्यसो त सत्ता बाहिर बस्नुपरेको एमालेलाई पनि शेखर समूहलाई अघि सारेर सत्ताको तुरुप खेल्न सजिलो भएको छ।  कोइराला पनि पार्टीमा सभापति देउवाले उपयुक्त स्पेश नदिएको भनेर विद्रोह गर्दै आएकोमा ओलीको उक्त प्रस्तावलाई उत्तम अवसरको रुपमा नलेनान् र?

युवा नेता एवं प्रतिनिधिसभा सांसद प्रदीप पौडेलले कोशी प्रकरणमा पार्टी फुटको विषयमा अन्तरविरोधको विजारोपण भएको हुनसक्ने भएपनि अहिले नै पार्टी नै फुट्ने भन्ने ढंगले अगाडि जाने स्थिति नभएको बताए।

उनले देश सञ्चारसँग भने, ‘शेखर दाइले नै म गठबन्धनमै छु भनेपछि र प्रदेशमा भएको गठबन्धनलाई शीर्ष नेताले स्वीकार गरेपछि खास समस्या नहोला, कोशी प्रदेस सरकारमा गठबन्धनले नै केदार कार्कीलाई सर्मथन गरिसक्यो, प्रचण्ड,देउवा र कोइरालाले नै सहमतिको वक्तव्य दिनुभयो, अहिलेलाई उहाँहरुले सेटल गर्नुभयो।’

कांग्रेसमा विरोधका स्वरहरु सुनिनु नौलो विषय नभए पनि गुटले केन्द्रको प्रमुख प्रतिपक्षी दलसँग सत्ताको लागि सहकार्य गर्नु भने कोशी प्रकरण एउटा अविष्मरणीय घटना हो। दलभित्रका अतिवादीका प्रवृत्तिहरु प्रजातन्त्र र कांग्रेसको भविष्यका लागि घातक भएको बताएका छन्।

पार्टीको एउटा असन्तुष्ट पक्षले आफ्नै पार्टीको अर्को विद्रोही समूहले गराएको यस घटनालाई कसरी लिएको छ भन्ने देश सञ्चारको जिज्ञासामा कांग्रेस रुपान्तरण अभियानको अगुवाइ गरिरहेका नेता गुरु घिमिरेले आफूहरु पार्टीलाई संस्थागत बनाउन लागिपरेको र शेखर समूह व्यक्तिगत स्वार्थमा बढी केन्द्रीत देखिएको तर्क गरे।

‘पार्टीमा विधि र पद्धतिको पालना नभएर हामी रुपान्तरणमा छौँ, पार्टीले प्रजातान्त्रिक चरित्र छाड्यो,असन्तुष्टिको मुख्य केन्द्रीय तत्व के हो भन्ने मुख्य प्रश्न हो,’ उनले भने।

नेता घिमिरेले कोशी प्रकरणले राजनीति र कांग्रेसमा समानान्तर रुपमा दुई वटा प्रभाव पार्ने औंल्याएका छन्। उनले भने, ‘कांग्रेस राजीतिको आन्तरिक आयाममा गम्भीर प्रभाव पार्छ, आफ्नो गुटको र आफुले चाहेको व्यक्तिलाई अवसर दिन पाए ठिक नत्र बेठिक भन्ने अतिवादी र अस्वस्थ प्रवृत्तिको कटाक्ष भएको छ। प्रजातन्त्रको मर्म अनुरुप चलेको छैन। सत्ता अवसर व्यक्तिगत स्वार्थ र लाभहानिमा केन्द्रीत देखियो दलीय चरित्र अनुसार संवैधानिक र दलको विधानको मर्म अनुरुप पनि छैन।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?