
काठमाडौँ – आरती साहको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
न्यायका लागि १२१ दिनदेखि धर्ना बसिरहेका आरतीका बुवा, आमा र भाइलाई प्रहरीले शनिबार शनिबार माइतीघरबाट उठाएर लगेको थियो। उनीहरु अझै पनि प्रहरीकै नियन्त्रणमा रहेका छन्।
न्याय माग्दा प्रहरीले ज्यादती गरेको भन्दै ‘बृहत नागरिक आन्दोलन’ले पीडित परिवारको पक्षमा प्रदर्शन गरेको हो। प्रदर्शनमा लेखक तथा अभियन्ता सञ्जीव उप्रेतीलगायत सहभागी थिए।
त्यसक्रममा आरतीकी बहिनी पनि उपस्थित थिइन्। उनी शनिबार मात्रै काठमाडौँ आइपुगेकी थिइन्। विक्षिप्त अवस्थामा रहेकी उनले आफ्नी दिदीलाई न्यायको माग गरेकी छन्। प्रदर्शनमा सहभागीहरुले दण्डहिनता अन्त्यको माग गरेका छन्।
जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तर, उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।