
काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन्।
सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको बताएका हुन्।
उनले कोशीमा सत्तारुढ गठबन्धन र एमाले र कांग्रेसको असन्तुष्ट समूहको अर्को गठबन्धन रहेको पनि बताए। ‘कोशीमा दुईटा गठबन्धन बनेका छन्। एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट कांग्रेस समूहको गठबन्धन। एमालेले चलखेल गरेछ र मन्त्री छिराइहालेछ,’ उनले भने।
कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन्।
एमालेका रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ लिएपछि बुधबार विश्वासको मत लिन लागेका छन्।