
काठमाडौँ–पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघले दसैँमा पनि कान्तिपुर मिडिया ग्रुपविरुद्धको आन्दोलन जारी राख्ने भएका छन्। दसैँ अवधिमा पत्रिका निस्कन बन्द हुने भएकाले महासंघ र श्रमजीवी पत्रकार संघका आन्दोलनकर्ताले शुक्रबारदेखि डिजिटल स्वरूपमा आन्दोलन सुरु गरेका छन्।
केन्द्र र ७७ वटै जिल्ला शाखाका प्रतिनिधिले आन्दोलन गरेका हुन्। महासंघ र श्रमजीवी पत्रकार संघले आन्दोलन रचनात्मक तथा सिर्जनात्मक हुनुपर्ने बाहेक यसको स्वरूपबारे कसैलाई दवाव दिएको छैन। सामाजिक सञ्जालमामार्फत कान्तिपुरका समस्या अन्तर्राष्ट्रिय स्तरसम्मै पुग्ने गरी प्रस्तुत गर्ने पत्रकार महासंघका महासचिव रोसन पुरीले बताए।
उनले देश सञ्चारसँग भने,‘सोसल साइटमार्फत कान्तिपुरमा भएका समस्या जानकारी गराउन सुरु गरेका छौँ। त्यहाँका समस्या डिजिटल माध्यमबाट माग राख्ने र दवाव दिने, तथा सरकारलाई खास गरेर न्युनतम पारिश्रमिक सँग सम्बन्धित जुन समस्या छ श्रमजिवि पत्रकार ऐन कार्यन्वयनका लागि दवाव दिने उदेश्यले डिजिटल आन्दोलनमा मार्फत महासंघ अगाडि जान खोजेको हो। सँगसँगै सम्बन्धित सञ्चार गृहबाट पिडित बनेका ८२ जना मध्येबाट हामीले उहाँहरूको पीडालाई उहाँहरूकै भोइसलाई डिटिजल माध्यममार्फत सेयर गर्ने सम्बन्धित सञ्चारगृहलाई दवाव दिनेछौँ।’
माग पूरा नभए दसैँ पछाडि भौतिक रुपमा उपस्थित भएर पुन धर्ना र आन्दोलन गर्ने पुरीको भनाइ छ। मानवअधिकार र श्रम संगठनसँग सम्बन्धित अन्र्तराष्ट्रि संघ संस्थासँग पनि महासंघले अनौपचारिक छलफल गरिरहेको पुरीले बताए। कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहम परामर्श भएको उनको भनाई छ।
यसको अलवा दसैँ लगतै कान्तिपुरमा भएका समस्याबारे नागरिक स्तर सम्मै पुग्ने आन्दोलनकारीको योजना छ। आम नगारिकलाई यस भित्रका समस्या बुझाउनुका साथै सरकारलाई पनि यसबारे औपचारिक रुपमा जानकारी गराउने महासंघले जनाएको छ।
सरकारले दिएको अनुदान र कान्तिपुरको खर्चको पारदर्शिता पनि महासंघले खोज्दै छ।
राजनीतिक आडमा महासंघले आन्दोलन गर्यो भन्ने कान्तिपुरको आरोपको खण्डन गर्दै महासचिव पुरीले आफुहरुलाई दलहरुको पनि साथ चाहिएको र कान्तिपुरको समस्या राजनीतिक दल, दलका प्रमुख सचेतक र कानुन निर्मातालाई पनि जानकारी गराउने बताएका छन्। कानुन कार्यान्वयन गर्न छाडेर कान्तिपुरले कुतर्क गरेको पुरीको तर्क छ।
आन्दोलनलाई सुरुदेखि नै साथ दिइरहेको पत्रकारको हकहितमा आवाज उठाउँदै आएको संस्था श्रमजिवि पत्रकार संघले दसैँ पछि आन्दोलनले थप चर्को रुप लिने घोषणा गरेको छ।
श्रमजिवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले दसैंमा डिजिटल स्वरुपको आन्दोलन गरेर पनि माग पुरा नभए दसैँपछि कान्तिपुर मिडिया गु्रपमा पिडित बन्न पुगेका केन्द्रदेखि,प्रदेस र जिल्लाका पत्रकार तथा कर्मचारी पनि थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयमै आएर आन्दोलन गर्ने तयारी भएको चेतावनी दिएका छन्।
कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी–पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत निष्कासन गरेको, सरुवा गरेको, काम गर्ने वातावरण नदिएको र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गरेको भन्दै आन्दोलन सुरु भएको हो।
पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको नेतृत्वमा गत साउन पहिलो हप्तादेखि आन्दोलन सुरु गरेका हुन्। आन्दोलनको दवावमा कान्तिपुर मिडिया ग्रुपले कर्मचारी र पत्रकारको माग सम्वोधन गर्ने आश्वासन दिएको थियो।
आन्दोलनबाट डराएर माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता गरेपनि कार्यान्वयन भने गरेन बरु उल्टै थप पत्रकार निकाल्न थाल्यो। लिखित प्रतिवद्धता पुरा हुने भनेपछि केहि समय आन्दोलन रोकिएको पनि थियो।
तर कान्तिपुर मिडिया ग्रुपले आफ्नो हाउसभित्रका पत्रकार र कर्मचारीलाई थप निस्कासन र अवमूल्यन गर्न थालेपछि फेरि धर्ना र आन्दोलन चर्किएको हो। महासंघले कान्तिपुरबिरुद्ध अनिश्चितकालिन दवावमूलक कार्यक्रमको घोषणा गरेको छ। त्यसलाई श्रमजिवि पत्रकार संघले पनि साथ दिएको छ।
कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघ कान्तिपुर शाखाबीच भएको सहमति बहुसङ्खयक पत्रकारले अस्वीकार गरेपछि महासंघ केन्द्रीय समितिले आन्दोलन घोषणा गरेको हो।
यद्यपि नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले भने विज्ञप्ति निकालेर कान्तिपुरका पत्रकार र व्यवस्थापनबीच सहमति भइसकेको दाबी गरेको छ। उसले प्रतिष्ठानसँगको समन्यवविना आन्दोलन गरिएकोप्रति आपत्तिसमेत जनाएको छ।
नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघ, नेपालले समस्यामा परेका पत्रकार एवं श्रमजीवीसँग वार्ता,संघर्ष र कानुनी लडाई सँगसँगै लैजाने गरी अनिश्चितकालिन दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।
कानुनविपरीत भएका सरुवा बदर, निष्कासन गरिएका पत्रकारहरूको पुनर्बहाली र पारिश्रमिक नियमित भुक्तानीलाई वार्ताको पहिलो शर्त बनाउने र जुनसुकै विषयमा निर्णय लिँदा सम्बन्धित सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐनका प्रावधानहरूको अक्षरशः पालना गर्नुपर्ने महासंघको निर्णय छ।
कान्तिपुरका श्रमजीवीले हालसम्मको बाँकी रहेको पारिश्रमिक तत्काल भुक्तानी गर्नुपर्ने,पछिल्लो समय गरिएको श्रमजीवी पत्रकारको करार खारेजी,सरुवा तत्काल स्थगित गर्नुपर्ने, तर, पत्रकार दरबन्दी कटौती गर्नैपर्ने अवस्था आए प्रचलित ऐन कानुनअनुसार सम्पादकीय विभागमार्फत प्रक्रिया पूरा गर्नुपर्ने माग उठाएका हुन्।
यस्तै स्पष्टीकरणका नाममा मानसिक यातना र हतोत्साही गर्ने काम तत्काल बन्द हुनुपर्ने पनि कान्तिपुरका श्रमजीवीको माग छ,। चाडपर्व भत्ता खाइपाई आएको तलबबराबर दिनुपर्ने,कार्यालयको परिचयपत्र र सूचना विभागको प्रेस प्रतिनिधि परिचय पत्र तत्काल पाउने सुनिश्चितता हुनुपर्ने,प्रत्येक वर्ष अन्तिम महिनामा औषधोपचारबापत एक महिनाबराबरको तलब पाउनुपर्ने, पत्रकारले सम्झौताअनुरुप महिनाको अन्त्यमा पाउने कुल पारिश्रमिक नै उसको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने, कार्यरत पत्रकारको हकमा पारिश्रमिकअनुसार नै सञ्चय कोषमा जम्मा गर्नुपर्ने माग छन्।
सुत्केरी स्याहार विदा दिनुपर्ने, कार्यरत पत्रकारको हकहित र सुरक्षाका लागि कल्याणकारी कोष बनाउनुपर्ने, सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारको कुल संख्याको १५ प्रतिशतमात्रै करार नियुक्ति हुनुपर्ने, सरुवा भई जाने श्रमिक र निजका आश्रित परिवारका सदस्यालाई दैनिक तथा भम्रण खर्च उपलब्ध गराउनुपर्ने, खटिएको ठाउमा बसोबासको व्यवस्था गर्नुपर्ने अन्यथा बासस्थानबाफत खर्च दिनुपर्ने लगायतका माग रहेका छन्।
पछिल्लो पटक ८२ जना पत्रकार तथा कर्मचारी पिडित छन्। मागहरु व्यवस्थापनले वार्तामार्फत सम्बोधन गर्न पत्रकार महासंघ, श्रमजीवी–पत्रकार संघ, नेपालसहित विभिन्न सरोकारवाला संघ संगठन कान्तिपुरस्थित अस्तित्वमा रहेका संघ–संगठनहरुसहितको संयुक्त आन्दोलनबाट मात्र सम्भव रहेको भन्दै आन्दोलनलाई थप शशक्त बनाउदै लैजाने आन्दोलनकारीले चेतावनी दिएका छन्।
यद्यपि वार्ता र कानुनी बाटो र सँगै लैजाने भनिएको छ। वार्ताकै क्रममा पनि अनावश्यक सरुवा गर्ने व्यवस्थापनको हर्कत निन्दनीय रहेको र कान्तिपुरको कानुनविपरित कदमका विरुद्ध सबै एकतावद्ध हुन सरोकारवाला सबैलाई आन्दोलनकारीले आग्रह गरेका छन्।
कान्तिपुरसहित १८ भन्दा धेरै सञ्चार गृहमा समस्या देखिएको भन्दै यसको निराकरणका लागि समर्थन गर्न श्रमजीवी पत्रकार समक्ष महासंघ र श्रमजीवी पत्रकार संघले अपिल गरेको छ।
यता कान्तिपुर मिडिया ग्रुपले भने नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामा कान्तिपुर पब्लिकेशन्स्मा आन्दोलन गरिएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।
महासंघ शाखाका अध्यक्ष अनिल गिरीले विज्ञप्ति जारी गर्दै राजनीतिक दलका केन्द्रीय नेताको सहभागितामा आन्दोलन चलाउनु पत्रकारिता र महासंघको समेत अपमान भएको उल्लेख गरेका छन्।
श्रमजिवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले आफु पत्रकार संघको अध्यक्षको हैसियतले कान्तिपुरका पत्रकार श्रमजीवीहरुको न्यायिक अधिकारका लागि आन्दोलनमा सहभागी भएको प्रष्टीकरण दिएका छन्।
उनले भनेका छन्,‘हिजोदेखि नै म निरन्तर सञ्चार श्रमिक र पत्रकारको हितका लागि वकालत गर्दै आएको छु। आस्थाकै आधारमा श्रमजीवी वर्गको पक्षमा बोल्न पाउनु कुनै पनि सचेत नागरिकको कर्तव्य हो,त्यो मेरो नैसर्गिक अधिकार र कर्तव्य पनि हो ।म बाचुञ्जेल श्रमिकवर्गको पक्षमा अनवरत लडिरहनेछु। कसैका भ्रम र जालझेलले मलाई गलाउने छैन। पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य हो।’