
जनकपुरधाम-जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ।
दसैँको सातौ दिन शनिबार राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको हो।
सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ। मिथिलाञ्चल क्षेत्रमा यसलाई ‘बेलतोरी’ भनिन्छ।
जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ।
फूलपाती भित्राउँदा नेपाली सेना र नेपाल प्रहरीले सलामी दिँदै ४,४ राउन्ड गोली हवाइ फायर गरेको थियो।