
काठमाडौँ-अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एङ्गोला जाँदैछन्।
अध्यक्ष तिमिल्सिना एङ्गोलामा कार्तिक ६ देखि १०(अक्टोबर २३—२७) मा हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १.५५ बजे त्यस तर्फ प्रस्थान गर्न लागेका हुन्।
‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिब डा. भरतराज गौतम, सहसचिब बबिता मिश्र, उपसचिब त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ(प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा छन्
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रबक्ता एकराम गिरीले जानकारी दिए। अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डि होस र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेर संग पनि पनि भेटवार्ता गर्नुहुनेछ ।
यसैगरी आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधीसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधीसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउनेछन्।
महासभासंगै संसदका महासचिबहरुको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहनुभएका संघीय संसदका महासचिब डा. भरतराज गौतमले सहभागिता जनाउने कार्यक्रम छ।