
एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले चौंथो खेलमा पहिलो जित हासिल गरेको छ। शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। यसअघि श्रीलंका सुरुवाती तीन खेलमा पराजित भएको थियो।
लखनउको इकाना स्टेडियममा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.४ ओभरमा २ सय ६२ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
श्रीलंकाको जितमा पथुम निसान्काले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा सदीरा समरविक्रमाले ९१ रनको अविजित इनिङ खेले। त्यस्तै चरिथा असलन्काले ४४ रनको इनिङ खेल्दा धन्नजय डि सिल्भाले ३० रन बनाएका थिए। कुशल मेन्डीसले ११ रन बनाए। नेदरल्यान्ड्सका लागि आर्यन दत र पउल भान मिकेरेन र कोलिन अकरमनले समान १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि सुब्रन्ड इनजेलबरेचले ७० रन बनाउँदा लोगन भान बेकले ५९ रन बनाएका थिए। उनीहरुले सातौं विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए। सातौं विकेटकलागि यो नेदरल्यान्ड्सको यो सर्वाधिक उच्च साझेदारी हो।
शनिबार श्रीलंकाले जितेसँगै विश्वकपमा सबै टिमले ४ खेल सकिंदा सम्म कम्तिमा एक खेल जितेका छन्। प्रतियोगितामा भारत र न्युजिल्यान्ड अपराजित रहँदा साउथ अफ्रिका, अस्ट्रेलिया र पाकिस्तानले समान २-२ खेलमा जित निकालेका छन्। त्यस्तै इंग्ल्यान्ड, बंगलादेश, नेदरल्यान्ड्स, श्रीलंका र अफगानिस्तानले समान १-१ खेलमा जित निकालेका छन्।