
एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग २ सय २९ रनले पराजित भएको छ। एकदिवसीय अन्तराष्ट्रिय इतिहासमा इंगल्यान्डको यो सर्वाधिक फराकिलो हार हो।
मुम्बईको वानखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ९९ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड २२ ओभरमा १ सय ७० रनमा समेटियो।
यसअघि इंग्ल्यान्ड २०२२ मा अस्ट्रेलियासँग मेलबर्नमा २ सय २१ रनले पराजित भोग्दा सर्वाधिक फराकिलो हारका रुपमा रहेको थियो। विश्वकपमा भने इंग्ल्यान्ड यसअघि पनि दक्षिण अफ्रिकासँगै फराकिलो अन्तरले पराजित भएको थियो। १९९९ मा द ओभलमा भएको खेलमा १ सय २२ रनले पराजित भएको थियो। विश्वकपमा इंग्ल्यान्डको यो तेस्रो पटक १०० भन्दा बढी रन अन्तरको हार हो।
इंग्ल्यान्डका लागि १० औं नम्बरमा ब्याटिङका लागि आएका मार्क वुडको अविजित ४३ रन सर्वाधिक रह्यो। त्यस्तै गुस एट्किन्सनले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका लागि लुन्ङ्गी एनगिडी, मार्को जनसेनले समान २ विकेट लिंदा जेराल्ड कोएट्जेले ३ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले १०९ रनको शतकीय इनिङ खेले। त्यस्तै रेजा हेन्ड्रिक्सले ८५ रन बनाउँदा रसि भान डेर डुसेनले ६० रन बनाउँदा कप्तान एइडन माक्रमले ४२ रन बनाए। त्यस्तै मार्को जनसेनले ४२ बलमा ७५ रनको विष्फोटक इनिङ खेले। इंग्ल्यान्डका लागि रेसी टोप्लीले ३ विकेट लिंदा गुस एट्किन्सन र अदिल रसिदले समान २-२ विकेट लिए।
इंग्ल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाको यो सर्वाधिक उच्च स्कोर हो। दक्षिण अफ्रिकाका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएक क्लासेनले ५१ बलमानै आफ्नो शतक पुरा गरेका थिए। उनलले ६७ बलमा १०९ रन बनायो। यो इनिङमा उनले ४ छक्का र १२ चौका प्रहार गरेका थिए। दक्षिण अफ्रिकाको यो जारी विश्वकपमा चौंथो खेलमा तेस्रो जित हो। इंग्ल्यान्डको भने तेस्रो हार हो।