
झापा – बडादशैंसहित विभिन्न चाडपर्वको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत कात्तिक ३ गते झापा आएका थिए ।
हरेक वर्ष झापाका शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका उनी झापा आएका हुन् । विगतका बर्षहरूमा महानवमीका दिन शुभकामना आयोजना गर्दै आएका ओलीले यसपाली भने केही दिन अघि नै उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
कात्तिक ३ गते आयोजित शुभकामना आदानप्रदान गरेर झापा दमकमै बसिरहेका ओली सोमबार काठमाडौं फर्किँदैछन् ।
३ गते झापा आएका ओलीले ४ दिन झापामा ‘विन्दास’ विताएका छन् । झापाको ४ दिने बसाइमा ओलीले राजनीतिक भन्दा अनौपचारिक भेटघाटलाई समय दिए ।
दशैं मनाउन नहुने भएपछि ओलीले चार दिनमा जिल्लामा धेरै भेटघाट, उधोगहरुको अवलोकन, कृषि फर्मको अवलोकन गरेका छन् । बिर्तामोडको पुराणदेखि काँकडभिट्टामा समवेदना दिनसम्म भ्याए ।
काठमाडौंबाट आएको पहिलो दिन काँकडभिट्टास्थित उप्रेती परिवारमा समवेदना दिएर बिर्तामोडमा देवी क्याम्पसको अवलोकन गरे । त्यसपछि शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भइ ओलीले रातको १ बजेसम्म कार्यकर्तासँग भेटघाट गरे ।
दोस्रो दिन ओलीले मेचीनगरमा रहेको ड्रागन फ्रुट बगान अवलोकन गरे । त्यसपछि उनले मेचीनगर मै रहेको सिंगापुरे वेभरेजको उधोगको अवलोकन गरेका थिए । कोकाकोलाको कम्पनीलाई टक्कर दिने गरी स्थापना भएको वेभरेजमा ओलीले आधा घण्टा विताएका थिए ।
सोही दिन बिर्तामोड–१० को कृषि फर्म अवलोकन गरेर दमक फर्किएका ओली अखिल साँझमा सहभागी भए ।
दमकका भेटघाटलाई प्राथमिकता दिए । कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ता ओलीलाई भेट्न दमक आएका थिए ।
आइतवार ओलीले महारानीझोडाका सामुहिक कृषिको अवलोकन गरे । त्यसको प्रगतिमा चासो दिएका ओलीले केहिवेर त्यतै विताए ।
त्यसपछि गौरादहमा कृष्ण विकको लाहा खेती र उधोगको अवलोकन गरेका छन् । हुलाकीको निर्माणाधीन पुल हेरेर ओली जुरोपानी पुगेका थिए । जुरोपानीमा रहेको एउटा जातीय संग्राहलय अवलोकन गरेर ओली पिङ समेत खेलेर फर्किएका छन् ।
ओलीले औपचारिक भन्दा अनौपचारिक भेटघाटलाई प्राथमिकता दिँदा आम नागरिकले सजिलै भेटघाटको अवसर पाएका थिए । तर, अनौपचारिक भेटघाट भएकाले ओली पुगेका ठाउँहरुमा कतिपय एमालेकै कार्यकर्ताले समयमा सूचना पाउन सकेनन् र भेट्न पाएनन् ।
ओलीको चारदिने घुमफिरमा जिल्ला अध्यक्ष दिपक कार्की, सचिव शिव ढुङगेल र ओलीका प्रतिनिधी तुलसी कार्कीले साथ दिएका थिए । ओलीसँग आइतवार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसहित अन्य नेता कार्यकर्ताहरु सहभागी थिए ।