
काठमाडौं-नेपाल प्रहरीले आज टीकाको दिन काठमाडौंका यात्रुहरुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्ने सर्वसाधारणलाई आवातजावत गर्ने सहज होस भन्ने उदेश्य सहित नेपाल प्रहरीले बस सेवा सञ्चालन गर्न लागेको हो।
उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सञ्चालन गर्ने बस बिहान ८:३० देखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने छ। एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यविनायक हुँदै पुनः नक्साल आउने छ।
शस्त्र प्रहरी बल नेपालले पनि उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी सम्म दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ।