
काठमाडौं- एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान देव खनालको शतकीय इनिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रनको उच्च स्कोर खडा गर्यो।
खनालले कप्तानी इनिङ खेल्दा नेपाले उच्च स्कोर तयार गर्यो। उनको यो यू-१९ क्रिकेटमा तेस्रो शतक हो। उनी तेस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी समेत बने।
खनालले ९२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १०० रन बनाए। त्यस्तै अर्जुन कुमाल र उतम थापाले पनि अर्धशतकीय इनिङ खेले। कुमालले ७८ बलमा ५५ रन बनाउँदा थापाले ६७ बलमा ५७ रन बनाएका थिए। त्यस्तै दिपक प्रसाद डुम्रेले २८ रन बनाउँदा दिपेश कँडेल १० रनमा अविजित रहे। युएईका लागि हरीत सेट्टीले ५ विकेट लिंदा आयन अफजल खानले २ तथा अमर बडामीले १ विकेट लिए
यसअघि नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका थिए।
नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो। नेपाल पुन एकपटक फाइनलमा युएईलाई हराउने लक्ष्यमा रहेको छ।
नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।