
काठमाडौं- पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङझाउमा जारी पारा एसियन गेम्स २०२२ मा ऐतिहासिक काश्य पदक जित्न सफल भएकी छिन्।
पलेशाले काश्य जितेसँगै पारा एसियन गेम्समा पदक जित्ने पहिलो पारा खेलाडी बनिन्। उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन्।
पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४-१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा भने कजाकस्तानकी कमिल्या दोसमलोभासँग १६-१० ले पराजित हुँदा फाइनल पुग्न भने असफल भइन्।
रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको थियो। यस विधामा ५ खेलाडी सहभागी भएकोमा रेपेचेजमा चीनकी याङ लिटिंग चीनकै लि युजीसँग पराजित भइन्। फाइनलमा इरानकी रोजा एब्रहिमी र कमिल्याले खेल्नेछन्।