भुसको आगोझैँ फैलदै लागुऔषध समस्या

दुर्व्यसनमा युवती पनि

दुर्व्यसनमा युवती पनि
+
-

नेपालगञ्ज – डोल्पा जिल्लाकी २० वर्षीया युवती ३० ट्याब्लेट नाइट्रोजेपामसहित नेपालगञ्जमा पक्राउ परिन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागुऔषध बोकेर नेपाल भित्रिदै गरेकी उनलाई इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गरेको हो ।

स्कुटीमा आउँदै गरेकी उनले पाइतलामा राखी चप्पलले च्यापेर नाइट्रोजेपाम ल्याउँदै थिइन् । सिएमए पढ्दै गरेकी ती युवती नेपालगञ्जमै बस्छिन् र उनी आफै प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बाँके प्रहरीले दुई महिनाअघि खजुराबाट दुई किशोरीलाई ब्राउनसुगर खादै गरेको अवस्थामा पक्राउ गर्‍यो । चार जना केटा साथीसँग बसेर ब्राउनसुगर खाइरहेको बेलामा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट नौ सय मिलिग्राम ब्राउनसुगरसमेत फेला परेको थियो ।

१८ र २० वर्षका दुई युवतीलाई प्रहरीले अनुसन्धानका लागि ५० दिन जिल्ला प्रहरी कार्यालयमा राख्यो । पछि उनीहरु अदालतबाट धरौटीमा छुटे ।

बाँकेमा युवकमात्रै होइन, युवतीहरुसमेत लागु औषधका पारखी रहेको तथ्यांकले देखाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागु औषधमा युवकसँगै युवतीको पनि उत्तिकै पहुँच देखिएको छ ।

साथीहरुको लहलहैमा लागेर लागुऔषधको कुलतमा पसेका प्रायः युवतीहरु यौन धन्दामा रहेको जानकारहरु बताउँछन् । बाहिरी जिल्लामा नेपालगञ्जमा पढ्न या अरु कुनै काम विशेषले बसेका तथा यहीँका स्थानीय युवतीहरु पनि कुलतमा फसेको देखिएको छ । अभिभावकले पढ्न पठाएका युवतीहरु शहरमा आएपछि साथीको लहलहैमा कुलतमा फसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा ११ जना युवती लागुऔषधमा पक्राउ परेका छन् । प्रहरी निरीक्षक विष्टले पुरुषसाथीसँग लागेर किशोरी/युवती पनि कुलतमा फसेको बताए ।

बढ्दो छ लागु औषधको जालो


बाँकेमा दिन प्रतिदिन लागु औषधका प्रयोगकर्ता तथा कारोबारी बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले पनि त्यस्तो पुष्टि गर्दछ ।

लागु औषधमा पक्राउ परेका व्यक्ति, मुद्दादर्ता र बरामद गरिएको लागु औषधको मात्राले बाँकेमा दिन प्रतिदिन दुर्व्यसनी बढिरहेको देखाउँछ । बाँके प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकले लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी घट्नुका साटो बढिरहेको देखिन्छ ।

 

आर्थिक वर्ष २०७२/७३ मा बाँके प्रहरीले लागु औषधसहित एक सय आठ जनालाई पक्राउ गरेको थियो । ७८ वटा मुद्दा दर्ता गर्‍यो । यो वर्ष ५ सय ८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो दुई सय ग्राम चरेश, नाइट्रोजेपाम ९ सय ३५ ट्याब्लेट, अफिम ५ किलो र गाजा १५ ग्राम बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा लागु औषधसहित एक सय ८९ जना पक्राउ परे । यो वर्ष एक सय ३७ वटा मुद्दा दर्ता भयो । ५ सय ३७ ग्राम ३ सय १२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाजा, दश किलो ५३ ग्राम अफिम, ५ लिटर दुई सय मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९ सय ७५ ट्याब्लेट बरामद भयो ।

आर्थिक वर्ष २०७४/७५ मा दुई सय ४३ जना पक्राउ परे । एक सय ४७ वटा मुद्दा दर्ता भयो । ३ सय ७५ ग्राम २ सय ६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो दुई सय ५० ग्राम चरेश, ७ किलो तीन सय ग्राम अफिम, सय ग्राम गाजा, दुई हजार ६ सय ५० मिलिलिटर कोरेक्स, तीन हजार नौ सय २६ वटा नाइट्रोजेपाम/नाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भयो ।

ट्याब्लेटको पहाडमा माग बढी


सुर्खेतका किरण बयक ६ सय ३ वटा नाइट्रोभेटसहित नेपालगञ्जमा पक्राउ परे । भेष्ट भित्र नाइट्रोजेपाम राखेर रुपैडिहाबाट नेपाल ल्याउँदै गर्दा १७ वर्षे बयकलाई नाकामा प्रहरीले नियन्त्रणमा लियो ।

लागुऔषधको प्रयोगकर्तासँगै कारोबारीसमेत भइसकेका बयकले इमान्दारी पूर्वक भने, रुपैडिहाबाट ६ हजारमा ६ सय ट्याब्लेट किनेर ल्याएको हुँ । दाङमा पुर्‍याउन पाए भने २८ हजार रुपैया नाफा हुन्छ ।’ उनको भनाई अनुसार, रुपैडिहामा एक ट्याब्लेट नाइट्रोभेटलाई दश रुपैया पर्दोरहेछ । दाङमा पुर्‍याउँदा प्रति ट्याब्लेट ४७ रुपैया पर्ने देखियो ।

सुर्खेतका भए पनि उनी साथीसँग मिलेर लागु औषध कारोबार गर्न दाङमा बस्दै आएका थिए । उनले यसअघि तीन सय वटासम्म ट्याब्लेट पास गरेको स्वीकारे । रुपैडिहामा आउने र लागु औषध लिएर जाने गरेका उनले पटक–पटक आउनु भन्दा एकपटक अलि धेरै बोकेर जाऊ भन्दा पक्राउ परेका थिए ।

सुर्खेतका राम थापामगर, कैलाश भट्टराई र प्रवीण विक चिनीको बोरामा राखेर पाँच सय १० ट्याब्लेट नाइट्रोजेपाम लिएर आउदा वीपीचोकमा पक्राउ परे । सुर्खेतबाट नै लागु औषध लिन आएका उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा नाकाबाट आधा दर्जन प्रहरी बीट पारेर आएपछि पक्राउ गरेको थियो ।

खाना सजिलो, किन्दा सस्तो पाइने भएकाले पछिल्लो समयमा प्रयोगकर्ताले ट्याब्लेटमा जोड दिएको पाइएको छ । अझ विशेष गरेर ट्याब्लेटको माग सुर्खेत, दाङ, दैलेख हुँदै जुम्लासम्म रहेको छ ।

बाटोको पहुँच पुगेपछि जुम्लाबाटसमेत लागु औषध लिन रुपैडिहामा आउने गरेका छन् । शहर बजारमा मात्रै सीमित रहेको लागुऔषध प्रयोगकर्ता र कारोबारी अब बिस्तारै पहाडी जिल्ला तथा दूरदराजमा फैलिदै गएको छ । गएको आर्थिक वर्षमा तीन हजार नौ सय ३६ ट्याब्लेट पक्राउ पर्नुले पनि यस्तो देखिन्छ ।

यसकारण भनिन्छ, नेपालगञ्जलाई लागु औषधको ‘हब’


पश्चिम नेपालको व्यस्त बजार नेपालगञ्ज भारतीय सीमासँग जोडिएको छ । खुल्ला सीमानाका कारण अन्य अपराधिक गतिविधिसँगै लागुऔषधको पनि नेपालगञ्ज केन्द्रविन्दु बनिरहेको छ । नेपालगञ्जलाई लागुऔषधको कारोबार केन्द्र भन्ने गरिन्छ ।

साविकको मध्यपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने गाजा, चरेश र अफिम तथा भारतबाट भित्रिने ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम, नाइट्रोभेट र स्पामको कारोबार केन्द्र नेपालगञ्ज नै बनिरहेको छ ।

पहाडी जिल्लामा उत्पादन हुने गाजा, चरेश र अफिम नेपालगञ्ज हुँदै भारतीय शहरमा पुग्छन् । भारतबाट ब्राउनसुगर, कोरेक्स र विभिन्न नामको ट्याब्लेट नेपालगञ्ज भएर देशका विभिन्न ठाउँमा पुग्छन् ।

नेपालगञ्ज आफैमा पनि यसका प्रयोगकर्ता र कारोबारी वर्षेनी बढिरहेका छन् । यद्यपि, बाँके जिल्ला र नेपालगञ्ज शहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी कति छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । लागुऔषधविरुद्ध लागेका साहरा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजार बढी प्रयोगकर्ता भएको बताउँछन् ।

कुलतमा लागेका र छिटो पैसा कमाउने सोच बनाएर यस्तो धन्दामा लागेको पाइन्छ । नेपालगञ्जलाई केन्द्रविन्दु यसकारण पनि भनिन्छ कि भारतीयहरुसमेत यहाँ कारोबार गर्न आउँछन् । भारतबाट ब्राउनसुगर बोकेर आउने र यताबाट गाँजा, चरेश र अफिम लैजाने गरिन्छ । बाँकेमा ठूल्ठूला व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजरदेखि समाजका मानसम्मान पाउने व्यक्तिहरु लागुऔषधको दुष्चक्रमा परेका छन् ।

नेपालगञ्जलाई किन लागुऔषधको केन्द्र भनिन्छ ? बाँके प्रहरीको मुद्दाफाँटमा रहेर अनुसन्धान गरिरहेका विष्ट भन्छन्, खुल्ला सीमानाका कारण कारोबार बढिरहेको छ । भारतमा सहजै पाइने लागुऔषध कुनै न कुनै नाकाबाट नेपालगञ्जसम्म छिर्‍याउने गरिन्छ ।

बाँके प्रहरीले लागुऔषध नियन्त्रण तथा कारबाहीका लागि ‘सीधा कारबाही’ अभियानसँगै स्कूल स्कूलमा जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । लागुऔषध विरुद्धमा काम गर्ने आधा दर्जन संघ संस्थाले पनि जनचेतनामूलक गतिविधिहरु गरिरहेका छन् । यसका बाबजुद नेपालगञ्जमा प्रयोगकर्ता तथा कारोबारी घटिरहेका छैनन् ।

बाँके जिल्ला कारागारमा रहेका बन्दीको संख्या पनि बाँकेमा दिन प्रति दिन लागु औषधको प्रयोगकर्ता तथा कारोबारी बढिरहेको देखिन्छ । निमित्त जेलर श्याम लामिछानेका अनुसार, आइतबारको रेकर्डमा कारागारमा २ सय ३२ जना लागुऔषधका बन्दी छन् ।

कारागारमा ६ सय ५३ जना बन्दी रहदा लागु औषधका सबैभन्दा धेरै २ सय ३२ रहेका छन् । ‘लागु औषधका बन्दी दैनिक एक/दुई जना आउँछन्, निमित्त जेलर लामिछानेले भने ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा पनि तीन दर्जन बढी लागु औषधका प्रयोगकर्ता तथा कारोबारी रहेका छन् । प्रहरीले कानूनी प्रक्रिया पूरा गर्दै कारागार पठाउने गरेको छ ।

भारतीयहरु नेपालगञ्ज कारागारमा परेकोजसरी लागु औषधसहित पक्राउ परेका नेपालीहरु भारतीय जेलमा पनि रहेका छन् । नेपाली नाकाबाट फुत्केर पारी पुगेकालाई एसएसबीले समातेर बहराइच जेलमा पठाउने गर्दछ ।

रोक्न सबै लाग्नु पर्छ


लागु औषधविरुद्ध लागि परेका साहरा हाउसका सञ्चालक अभिराज क्षेत्री लागु औषध रोकथाम तथा न्यूनीकरण गर्नका लागि व्यक्ति–व्यक्ति जागरुक हुनुपर्ने बताउँछन् । उनले दिन प्रति दिन लागु औषधका प्रयोगकर्ता तथा कारोबारी बढिरहेकाले त्यसलाई न्यनीकरण गर्न पाठ्यक्रममै यस विषयमा पढाई हुनुपर्ने बताए ।

प्रहरी र लागु औषधविरुद्ध काम गरिरहेका संघ संस्थाले स्कूल स्कूलमा गएर एक/एक घण्टाको कक्षा त लिइरहेका छन् । यसले नपुगेको क्षेत्रीको भनाई छ ।

कानुनलाई समय सापेक्ष सुधार गर्ने, ऐनहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने तथा सबै सरोकारवाला निकायका बीचमा रोडम्याप बनाएर अघि बढ्दा लागु औषध नियन्त्रण तथा न्यूनीकरण हुने क्षेत्रीको बुझाई छ ।

लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्नु चुनौती भइरहेकाले यसमा यो वा त्यो भनेर कुनै निकायलाई मात्रै नभई सबैजना मिलेर काम गर्नुपर्ने सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष गोपाल अधिकारीको भनाई छ ।

प्रहरी नेतृत्वहरु पनि सामाजिक संघ संस्थादेखि समाजका अगुवाले आफूहरुलाई साथ दिनुपर्ने बताउँछन् । अभिभावकहरुले पनि आफ्ना छोराछोरी कहाँ जान्छन्, कोसँग हिँडेका छन्, संगत गरेका व्यक्ति कस्तो छ भन्ने कुरा निगरानी राख्नु जरुरी रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?