
काठमाडौं- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले युएईलाई उपाधि जित्नका लागि १ सय ६३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेल ५० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन बनाएँदा दिपेन्द्र सिंह ऐरीले २० रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सुन्दीप जोराले १० तथा सोमपाल कामीले १३ रन बनाए। करण केसी २३ रनमा अविजित रहे।
युएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिंदा अली नसिर र जहुर खानले समान २-२ विकेट लिएका थिए। जुनाइद सिद्दीकीको नाममा १ विकेट लिएका थिए।
नेपालले लिग चरणमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको थियो। युएई नेपाललाई फाइनलमा हराउँदै लिग चरणमा भोगेका दुई हारको बदला लिने सोचमा छ।