
काठमाडौं- सोमबारबाट सुरु हुने टी-२० विश्वकप एसिया छनोटमा नेपाल प्रतिस्पर्धा गर्दैछ। त्यसअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले टिम सन्तुलित र उच्च लयमा रहेको भन्दै छनोट हुने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिने बताएका छन्।
टियू मैदान कीर्तिपुरमा प्रशिक्षक देशाईले टी- २० फर्म्याट भनेकै धेरै कुराहरूको संयोजन हुने भएकाले एक बल टिमको हार जितको निर्णायक हुने हुँदा टिम सोही मेन्टालिटिका साथ मैदान उत्रिने बताए। प्रशिक्षक देशाइले भने ‘टी-२० फर्म्याट भनेकै एक बलले खेल परिवर्तन गर्न सक्ने फर्म्याट हो। त्यसैले प्लान भन्दा धेरै मैदानमा गरिने निर्णय प्रभावकारी हुन्छ।’
प्रशिक्षक देशाइले पछिल्लो समय टिमको लय राम्रो रहेको र अभ्यास पनि सोही अनुसार भएको भन्दै कुनै टिमलाई कम नआँकी जित्नका लागि खेल्ने बताए। उनले भने ‘हामी जित्नकै लागि खेल्ने छौं। हामी त्यही लक्ष्यका साथ अभ्यास गरिरहेका छौं।’
नेपाली टिमका कप्तान रोहित पौडेलले लामो समयदेखि विश्वकप छनोटको प्रतिक्षामा नेपाल रहेको भन्दै अब नेपाली टोली उच्च मनोवलका साथमा मैदानमा उत्रिन तयार रहेको बताए। रोहितले भने ‘हामी उच्च मनोबलका साथ मैदानमा उत्रिन तयार छौं। घरेलु मैदान र दर्शकको साथले आत्माविश्वास थप बढाउने छ।’ उनले घरेलु समर्थक नेपाली टोलीको आत्माविश्वास रहेको भन्दै समर्थकमाझ खेल्नका लागि उत्साही रहेको बताए।
उनले टिममा सन्दीपको आगमनले थप ब्यालेन्स र टिम बलियो भएको बताए। उनले भने ‘सन्दीपको आगमनपछि टिम थप एकीकृत बलियो र ब्यालेन्सड भएको छ।’ उनले पाँच बलरहरू टिममा भएपनि मैदानको अवस्था अनुसार निर्णय गरेर खेलाइने बताए। उनले भने ‘हामीसँग पाँच बलर भएपनि मैदानको अवस्था अनुसार निर्णय लिएर अगाडी बढ्ने छौं।’