काठमाडौँ – साँघुरा गल्ली, मान्छेको भिडभाड, राजधानीको असन–इन्द्रचोक क्षेत्र। साउनको महिना होस या तिजको पेरिफेरि। यो क्षेत्रमा महिलाहरु शौभाग्यको प्रतीक मानिने पोते किन्न व्यस्त देखिन्छन्।
इन्द्रचोकमा पोते बेच्ने धेरै जसो मुसलवान समुदायका छन्। नेपालमा पोते लगाउने प्रचलन मल्लकाल देखि नै कश्मिरी मूलका मुसलमानहरुले भित्राएको इतिहास छ।
पोते बेच्ने पेशा आफूहरुको पुर्खाले सुरु गरेको र त्यसैलाई अहिलेसम्म निरन्तरता दिइरहेको इन्द्रचोकका पोते व्यापारी बताउँछन्।
इन्द्रचोकस्थित यो बजार पोतेका लागि प्रचलित छ। यहाँ आफ्नो पुर्ख्यौली व्यवसायमा पछिल्लो युवा पुस्ता पनि संलग्न छ।
इन्द्रचोक र असनका गल्लीहरुमा रहेका पोते व्यापारीहरुलाई जहिल्यै भ्याइनभ्याई हुन्छ। उनीहरु अन्य बेलाको तुलनामा भन्दा लगनको महिना, साउनमा र तिजको समयमा व्यापार राम्रो हुने बताउँछन्।
इन्द्रचोकका पोते व्यापारी इमान उद्दिन भन्छन्, ‘पोते जोडेको सम्बन्ध धेरै बलियो छ किनभने पोते बनाउने क्रिश्चियनले बनाउँछन्, मुस्लिमले यसलाई बान्की मिलाएर बुन्ने गर्छनअनि लगाउने चाहिँ हिन्दू हुन्छन्। यसरी धार्मिक सहिष्णुतालाई पनि पोतेले बचाएको छ।
धार्मिक मूल्य र मान्यतालाई जोगाइराख्न पोते लगाउने चलन रहेपनि पछिल्लो समयमा कतिपयले यसलाई फेसनको रुपमा पनि लिने गरेको पाइएको छ।
हिन्दू ग्रन्थहरुमा पोते लगाउनुलाई शौभाग्य एवं पवित्रताको प्रतीकका रूपमा पनि लिने गरिन्छ।