
काठमाडौँ-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प लगत्तै केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ।
साथै भूकम्प पश्चातको राहत,पुनस्र्थापना,पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिएको छ। आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि तत्कालीन र अल्पकालीन उपायहरुबारे सुझाव दिएको छ। कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि,लत्ता–कपडाहरु युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्रीलाई भनेको छ।
यी अत्यावश्यक सामग्रीहरु अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा,सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय रुपमा कृयाशील राजनीतिक दलहरु र संघ–संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव समेत दिएको छ।
राहत, उद्धार र पुनस्र्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने कांग्रेसले जनाएको छ।
आउँदो हिउँदलाई विचार गरी अस्थायी आवास जतिसक्दो चाँडो व्यवस्था गर्न पनि कांग्रेसले भनेको छ। यसैगरी प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनस्र्थापना तथा पुनर्निर्माण गर्ने कार्य योजना बनाउनु पर्ने भन्दै कांग्रेसले स्थानीय सरकारमा विपद्
जोखिम व्यवस्थापनको स्थानीयस्तरबाटै नेतृत्व हुने गरी जनशक्तिको व्यवस्थापन गर्न पनि सुझाव दिएको छ। कांग्रेसले तत्कालीन र अल्पकालीन तथा पुनर्निर्माणका कामबारे बुँदागत रुपमा सरकारलाई सुझाव दिएको नेता विश्वकर्माले बताए।
आजै भूकम्प पीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको ५० लाखको चेक पनि हस्तान्तरण गरेको छ।