
जाजरकोट – जाजरकोटको सदरमुकाम भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका ३० वर्षीय मनोज केसी भूकम्पले ढलेको घरको वरिपरी गरिरहेका थिए। कहिले भत्किएको घरबाट सामान निकालिरहेका थिए भने कहिले भत्किएको घरलाई टोलाएर हेरिरहन्थे।
उनी कार्तिक १७ गते अरु दिनभन्दा ढिलो घर पुगेका थिए। उनी पुग्दा घरमा सबै निदाइसकेका थिए। ‘घरमा मेरो मुवा लालसरी बुढाथोकी (५०), श्रीमती विन्दा शाही (२२) र दुईजना भाडामा बस्ने गरी ५ जना थियौँ,’ उनले भने,’सबै निदाइसकेकोले मलाई उठाउन मन लागेन। अनि म तलको कोठामा सुतेको थिएँ।’
सुतेको केहीबेरमै भूकम्पले घर हल्लाएपछि आफू बाहिर निस्किएको उनी सम्झिन्छन्। आफू निस्केपछि उनले घरका अरुलाई पनि बाहिर निकाल्न सफल भए।
उनले भने,’सुतेको केहीबेरमा यस्तो बनायो, कसरी शब्दमा भनु म! जसोतसो बाहिर निस्केँ। मेरो मुवा र श्रीमती एउटै कोठामा सुतेकोले मैले उहाँहरुलाई बाहिर निकालेँ। भाडामा बस्नुहुन्थ्यो– आमा र बच्चा उहाँहरुलाई बाहिर निकालेँ। मामालाई निकाले जो घाइते हुनुहुन्छ।’
भूकम्पले घर भत्काएपछि चारैतिर धुलैधुलोले केही नदेखिएको र बत्ती नहुँदा उद्धारमा समस्या भएको उनी बताउँछन्। ‘उद्धारमा लागि त परेँ तर त्यो रात यहाँ एकैछिनमा यस्तो भयो, सबै धुवाँधुवाँजस्तो केही देखिँदैन थियो। त्यसमा बत्ती पनि थिएन। जसको कारणले पनि उद्धारमा कठिनाइ भयो।’
अहिले घाइतेको अवस्था सामान्य बन्दै गएको उनले बताए। ‘चोट त सबैलाई लागेको थियो शरीरमा। अहिले ठीकै छ। मलाई पनि शरीरमा, घुँडामा चोट छ,’ उनले भने।
यहाँ १३ जनाको मृत्यु भएको केसीले बताए। उनका अनुसार समयमै उद्धार गर्न पाएको भए केहीलाई बचाउन सकिने अवस्था थियो। उनी भन्छन्,’सायद समयमा उद्धार गर्न सकेको भए केहीलाई बचाउन सकिन्थ्यो कि?’