
इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धात्मक हाइस्कोरिङ खेलमा इन्जुरी समयमा चेल्सीले हार टार्दै खेल ४-४ गोलको बराबरी खेल्यो।
२५ औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। चेल्सी डिफेन्डर कुकुरेलाले हालान्ड माथि नै फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हालान्डले अग्रता दिलाए। ४ मिनेट पछिनै चेल्सीका डिफेन्डर थियागो सिल्भाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।
३७ औं मिनेटमा चेल्सीले अग्रता बनाउन सफल भयो। सिटी डिफेन्डर रूबेन डियासको गल्तीमा चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल फर्कायो। बर्नार्डो सिल्भाको क्रसमा मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २-२ को अबस्थामा ल्याए।
दोस्रो हाफको सुरुवातमै सिटीले हालान्डको गोलमा पुन अग्रता बनायो। ६७औं मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो। ग्यालाघरको लामो दूरी बाट गरेको प्रहार सिटी गोलरक्षक एडरसनले बचाएपछि रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई ३-३ को अबस्थामा ल्याए।
८६औं मिनेटमा सिटीले फेरि खेलमा अग्रता लियो। रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो। सिटीको अन्तिम समयको गोलसँगै खेलमा सिटीको जित निश्चित मानिएको थियो। तर खेलमा कथा बाँकी थियो। इन्ज्युरी समयमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो। यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४-४ को स्थितिमा ल्याए।
बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ। चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ। प्रिमियर लिगकै अन्य खेलमा लिभरपुले ब्रेन्टफोर्डलाई ३-० ले पराजित गर्दा वेस्टह्यामले नटिङ्घम फरेस्टलाई ३-२ ले पराजित गर्यो। त्यस्तै ब्राइटन र सिफल्ड युनाइटेडले १-१ गोलको बराबरी खेल्दा एस्टन भिल्लाले फुलह्यामलाई ३-१ ले हरायो।