
काठमाडौँ – नेपालबाट सुपारी निर्यात खोल्न सभामुख देवराज घिमिरे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लागिपरेका छन्।
नेपालबाट भारतमा निकासी हुने सुपारी रोकिँदै/खोलिँदै आएको अवस्थामा अहिले पुनः सुचारु गर्न सभामुख घिमिरे र उद्योगमन्त्री रिजालले तयारी अघि बढाएका हुन्।
तेस्रो देशबाट आयात सुपारी नेपाल हुँदै भारतीय बजारमा पुर्याउँदा धेरै फाइदा हुने भएपछि भारतीय व्यापारीको स्वार्थमा नेपालका सत्तासीन व्यक्ति, राजनीतिक कर्मी र व्यापारीहरु सुपारी निर्यात बन्द गराउने र खोलाउने काममा सक्रिय हुने गरेका छन्।
सोमबार संसदीय सभापतिहरुको बैठक आह्वान गरेका सभामुख घिमिरेले त्यहाँ सुपारी निर्यात खोल्नुपर्ने धारणा राखेका थिए। सभापतिहरुसँगको औपचारिक बैठकपछि सभामुख घिमिरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभाति अब्दुल खांनसँग पछि छुट्टै छलफल गरेका छन्।
झापा निर्वाचन क्षेत्र भएका घिमिरेले चाँडो सुपारी निर्यातको वातावरण बनाउन मन्त्री रिजालसँग आग्रह गरेको बुझिएको छ।
मन्त्री रिजाल पनि सुपारी निर्यात खोल्ने पक्षमा छन्। रिजालले गत असोजमा उद्योग समितिमा सुपारी निर्यात खोल्नुपर्ने विषयमा प्रष्ट बोलेका थिए। नेपालमा उत्पादित सुपारी उच्च गुणस्तरको भएकाले भारत मात्रै यसको बजार भएकाले खोल्नुपर्ने उनको धारणा थियो। तर, सुपारी निर्यात खोल्दा तेस्रो देशबाट तस्करी भएर आएका सुपारी भारततर्फ निर्यात हुने गरेको छ।
असोज तेस्रो हप्ता सुपारीकै विषयमा छलफल गर्न बसेको समितिको बैठकमा रिजालले मन्त्रालयले भारत सरकारसँग सुपारी निर्यातको लागि पत्र लेखेर सहजीकरण गर्न तयार रहेको बताएका थिए। नेपालमा उत्पादित सुपारी निर्यात गर्ने भनिए पनि भित्री रुपमा तेस्रो देशबाट आयात गरिएका सुपारी भारतीय बजारमा सेटिङ मिलाएर पठाउने गरिन्छ।
नेपालले सुपारी निर्यात फुकाउँदा प्रति केसी एक सय रुपैयाँ भारु सस्तो पर्न जाने हुँदा भारतीय व्यापारीहरु नेपालका प्रभावशालीहरुलाई प्रभावमा पारेर त्यसको पक्षमा निर्णय गराउन लागि पर्ने आरोप छ। प्रभावशालीहरु तत्काल सुपारी खोल्नुपर्ने पक्षमा उभिए पनि उद्योग समितिमा रहेका सांसदहरु भने निर्यात रोक्ने निर्णय जारी राख्नुपर्ने पक्षमा छन्।
सुपारी खुलाउने वातावरण निर्माणका लागि राखिएको समितिको बैठकमा सांसदहरुले आपत्ति जनाउँदै आएका छन्। गत कात्तिक १५ गते सुपारी निर्यातबारे छलफल गर्न बसेको बैठकमा अधिकांश सांसदले आपत्ति जनाएका थिए।
बाहिर सुपारी निर्यायतको वातावरण तयार पारेर समितिलाई मोहरा बनाउन खोजेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए। एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले सुपारी आयात–निर्यातको विषयमा सचिवदेखि मन्त्रीकोसमेत जागिर तलमाथि हुने अवस्था रहेको दाबी गर्दै निर्यात सजिलै खोल्न नहुने बताएका थिए।
उनले समितिलाई मोहरा बनाएर निर्यात खोल्ने वातावरण बनाउन लागिएको भन्दै विरोध जनाएका थिए। एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले पटक पटक समितिमा सुपारीको विषय ल्याएको भन्दै आपत्ति जनाएका थिए। समितिका सदस्य र पार्टीको दबाबका कारण उद्योग समितिका सभापति खांनले निर्याय खुलाउने पक्षमा निर्णय गर्न सकेका छैनन्।