
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भेटेका छन्।
मुलुकमा अभियन्ता दुर्गा प्रसाईँको आन्दोलनले ध्यान खिचिरहेको र सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले पनि परोक्ष रुपमा हिन्दुराष्ट्रको रुपमा आफूलाई उभ्याउने बताएपछि ओली प्रचण्डलाई भेट्न पुगेका हुन्।
प्रसाईंको आन्दोलन र कांग्रेस सभापति शेरबहादुर देउवाको धर्मनिरपेक्षतामाथि समीक्षा गर्ने समय आएको अभिव्यक्तिले ओली र प्रचण्ड छलफलमा जुटेका हुन्।
प्रसाईं राजसंस्थाको पक्षमा प्रदर्शन गरिरहँदा सिंगो सत्ता उनको खिलाफमा देखिएपछि गणतन्त्र कमजोर जगमा रहेको पुष्टि भएको छ।
त्यसैमाथि पूर्वराजा ज्ञानेन्द्र शाहका सार्वजनिक र धार्मिक कार्यक्रममा उपस्थितिले पनि दलहरु हच्किएका छन्। यिनै दृष्यहरु पश्चात प्रचण्ड र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो।
प्रसाईंको आन्दोलनमा ओली खलनायकको रुपमा चित्रित भएको एकथरीको बुझाइ पनि छ। देउवाले पछिल्लो एक सार्वजनिक अभिव्यक्तिमा धर्मनिरपेक्षतामाथि बहस गर्न आफू तयार भएको उल्लेख गरेका थिए।
देउवाको उक्त अभिव्यक्तिपछि प्रचण्ड पनि हच्किएको मनस्थितिमा रहेको उनीनिकट नेताहरु बताउँछन्। यता छिमेकी मुलुक भारतको संस्थापन र उच्च तहबाट पनि नेपालमा धर्मनिरपेक्षता हटाउन देउवासँग कुरा भएको स्रोतको भनाइ छ।
देउवाले आफू हिन्दुराष्ट्रको पक्षमा उभिन नसकेपनि धर्मनिरपेक्षता हटाउन वचन दिएका बुझिएको छ। देउवाको यो वचनले माओवादीमा अविश्वास बढेको छ।
केही समयअघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको अनौपचारिक भेटमा पनि देउवाले धर्मनिरपेक्षताको सन्दर्भमा समीक्षा गर्ने बेला भएको बताएका स्रोतले जनाएको छ जुन भेटमा प्रचण्डले सामाजिक सञ्जाल टिकटक बन्द गर्न माग राखेका थिए।