
काठमाडौँ- कान्तिपुर पब्लिकेसन्सका माधव बस्नेत र रवि मानन्धरलाई श्रम अदालतले कान्तिपुरबाट खाईपाई आएको सेवा सुविधाको ६० प्रतिशत न्यूनतम पारिश्रमिक निर्धारण गर्ने फैसला गरेको छ।
कान्तिपुर पब्लिकेसन्सविरुद्ध बस्नेत र मानन्धरले श्रम अदालतमा पुगेका थिए। अदालतको पुनरावेदनमा उनीहरुलाई सम्पूर्ण रकम भुक्तानी नगर्दाको दिनसम्म सेवामा रहेसरह पारिश्रमिक, सेवा, सुविधा दिनुपर्ने पनि फैसला भएको छ।
फैसलापछि बस्नेतले न्याय नमरेको प्रतिक्रिया दिएका छन्।
कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी-पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत निष्कासन गरेको, सरुवा गरेको, काम गर्ने वातावरण नदिएको र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गरेको भन्दै गत साउनदेखि आन्दोलन सुरु भएको छ।