
पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा भइरहेको संघीयता विरोधी टिकाटिप्पणीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले राजा फालेको मन नपराउनेले संघीयताप्रति असन्तोष व्यक्त गरिरहेको बताए।
सबै कानुन बन्दा पनि परिपक्व बन्न नसके बल्ल संघीयताको औचित्यमाथि प्रश्न उठाउनु जायज हुने उनको भनाइ थियो।
‘राजा फालेको मन नपराउने धेरै छन् नि । धेरै छन् यहाँ पूराना पञ्चहरु जो राजाको भक्तिभाव गाएर आफ्नो दुनो सोजाउँथे’, मुख्यमन्त्री पाण्डेले भने, ‘तिनै मान्छेले गरेका क्रियाकलाप बुझेर या नबुझेर प्रभावित बनाउने प्रयत्न भाको छ। केही संगठित गर्ने प्रयत्न भाको छ।’
उनले कति जना मान्छेले फेसकुबमा लेखेपछि व्यवस्था परिवर्तन हुन्छ भन्दै प्रश्न तेर्साए। लाखौं लाखौं मान्छेले आन्दोलन गरेर ल्याएको व्यवस्थालाई परिवर्तन गर्न नहुने उनको भनाइ थियो।
उनले १९-२० जनाले आन्दोलन गर्दैमा व्यवस्था परिवर्तन नहुने बताए। ‘अस्ति गण्डकीमा पनि व्यवस्था विरोधी आवाज उठे। के छ रिपोर्ट भनेर सोधेको पहिलो दिन १९ जना दोस्रो दिन १७ जना थिए। अब यी व्यक्तिले माग्दैमा व्यवस्था परिर्वतन गर्ने?’, मुख्यमन्त्री पाण्डेकाे प्रश्न थियो।
यो व्यवस्थालाई उल्ट्याउने भन्दा व्यवस्थाका पक्षमा जनमत धेरै भएको उनको दाबी छ।
मुख्यमन्त्री पाण्डेले बुधबार पोखरामा भएको गण्डकी प्रदेशमा मानव अधिकार र सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका अवस्थाका विषयको अन्तरक्रियामा संघीयता बलियो हुन अझ केही समय लाग्ने स्पष्ट पारे।
उनले जनताले चुनेको जनप्रतिनिधिलाई राजाको संज्ञा दिएको प्रति आपत्ति जनाए। राजावादीलाई जनताले छानेको जनप्रतिनिधि चित्त नबुझेको उल्लेख गरे।